
ऐतिहासिक तातोपानी मेला र रक क्लाइम्बिङको उद्घाटन
धार्चे ३ खोर्लावेशीमा आयोजित ऐतिहासिक तातोपानी मेलाको मंगलबार विधिवत उद्घाटन गरिएको छ । तातोपानी क्षेत्र संरक्षण तथा संवद्र्धन विकास केन्द्रद्वारा आयोजित मेलाको गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिँखडाले उद्घाटन गरेकी हुन् ।
साथै सोही अवसरमा सोही स्थानमा आयोजित रक क्लाइम्बिङको पनि मन्त्री सिँखडाले उद्घाटन गरेकी छिन् ।
केन्द्रका संस्थापक सदस्य धनबहादुर सुनारको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि सिँखडा, विशेष अतिथि जिल्ला समन्वय समितिका सभापति मोहन थापा, धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ, उपाध्यक्ष सुनिला गुरुङ, वडा अध्यक्ष शेरबहादुर गुरुङ, तातोपानी क्षेत्र संरक्षण तथा संवद्र्धन विकास केन्द्रका अध्यक्ष इन्द्रप्रसाद गुरुङ, उत्तरी गोरखा तमु समाज(फुङ)का अध्यक्ष इमानसिङ गुरुङ, गोरखा अस्पताल सञ्चालक समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
गाउँपालिकाको आयोजनामा सञ्चालित रक क्लाइम्बिङ कार्यक्रममा २३ जनाले रक क्लाइम्बिङ गरेका छन् । सोमबार १३ जना र मंगलबार १० जना गरी २३ जनाले रक क्लाइम्बिङ गरेका गाउँपालिकाका राज गुरुङले जानकारी दिए । रक क्लाइम्बिङ कार्यक्रमको नेतृत्व नेपाल आरोहण खेल संघ उपाध्यक्ष सुनारबहादुर गुरुङले गरेका थिए ।
सो अवसरमा टेकबहादुर गुरुङद्वारा लिखित ‘प्राकृतिक बोन धर्मग्रन्थ’ पुस्तकको पनि मन्त्री सिँखडाले विमोचन गरेकी थिइन् ।
मेलामा ७० वटा स्टलहरु रहेका छन् । मेलाको अवसरमा बुधबारदेखि भलिबल प्रतियोगिता सञ्चालन हुने मेला आयोजक मूल समितिका संयोजक मीनबहादुर सुनारले जानकारी दिए ।




