
तातोपानी मेलामा रक क्लाइम्बिङको आकर्षण
धार्चे ३ खोर्लाबेशीमा माघ १५(आज)देखि सुरु हुने ऐतिहासिक तातोपानी मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । १५ गतेदेखि सुरु भए पनि औपचारिक उद्घाटन भने १६ गते गर्ने परम्परा अनुसार मेला सोमबारदेखि नै सुरु हुनेछ । प्रमुख अतिथि सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिँखडाले औपचारिक समारोहका बीच उद्घाटन गर्ने कार्यक्रम रहेको मेला संयोजक मीनबहादुर सुनारले जानकारी दिए ।
मेलास्थल खोर्लावेशीको मैदानमा ५० वटा स्टलहरु तयार भइसकेका छन् । स्टलमा स्थानीय कृषि उपजहरु, धार्चे क्षेत्रमा प्रयो हुने मौलिक परम्पराअनुसारका हस्तकलाका सामग्रीहरु, दैनिक उपभोग्य बस्तुहरु राखिनेछन् ।
त्यस्तै मेलामा भलिबल खेल हुनेछन् । जसमध्य २० टिम पुरुषका खेलाडीहरुले अहिलेसम्म सम्पर्कमा आइसकेका आयोजकले जनाएको छ । त्यस्तै महिला खेलाडीहरुको सात टिम सम्पर्कमा आइसकेका मेला आयोजक समितिका संयोजक सुनारले जानकारी दिए ।
यस पटकको मेलामा रक क्लाइम्बिङले विशेष आकर्षण थप गर्ने भएको छ । धार्चे गाउँ पालिकाको समन्वयमा मेलास्थलमा रक क्लाइम्बिङ हुने भएको छ । रक क्लाइम्बिङमा राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा छवि बनाएका धार्चेका रक क्लाइम्बिङ गाइडहरुले नेतृत्व गरेर सो इमेण्ट गर्न लागेका हुन् ।
राष्ट्रिय खेलकुद परिषदअन्तर्गत रहेको नेपाल आरोहण खेल संघका उपाध्यक्ष सुनार गुरुङ लगायतका सात जना इन्स्ट्रक्टर गाइडहरुले रक क्लाइम्बिङ गर्ने ठाउँमा डोरी फिक्स गर्ने, सरसफाइ गर्ने काम गरेका छन् ।
‘हाम्रो सात जनाको टिमले रुट सेटिङ गर्ने काम गरिरहेका छौँ । सो तयारी गर्ने काम पनि अन्तिम चरणमा पुगिसकेको छ’, उनले भने, ‘अब सोमबारदेखि सुरु हुन पनि सक्छ, अथवा मंगलबारदेखि सुरु हुनसक्छ ।’ रक क्लाइम्बिङ यहाँको विशेष इभेण्ट हुने हुँदा यसको आकर्षण बढ्ने अनुमान उनको छ ।
‘रक क्लाइम्बिङका लागि रुट सेटिङ गरेर सरसफाइ गर्ने काम भइसकेको छ । खुल्ला रक क्लाइम्बिङ कार्यक्रम हो । पालिकाले समन्वय गरेको हुँदा धेरथोर प्रवेश शुल्क लिन पनि सक्छ, नलिन पनि सक्छ’, उनले भने, ‘रक क्लाइम्बिङका लागि १५ मिटर लामो पहरोमा ठाउँ तयार गरिएको छ । नयाँ र एड्भेञ्चर इभेण्ट हुँदा यसमा धेरैको ध्यान जान सक्छ ।’
तातोपानी मेलामा रक क्लाइम्बिङ अघिल्लो चरणको गाउँपालिका कार्यालय पनि समन्वय गरेको थियो ।




