| शुक्रबार, अशोज १५, २०८३

गोर्खाली रनिङ कपको ‘टाइटल स्पोन्सर’ मिस्टर बी प्रालिले गर्ने

आउँदो फागुन ६ गतेबाट हुन लागेको गोर्खाली रनिङ कप फुटवल प्रतियोगिताको ‘टाइटल स्पोन्सर’ मिस्टर बी प्रालिले गर्ने भएको छ । मंगलवार पत्रकार सम्मेलन गरी आयोजक हरमटारी क्लबले सो कुरा जानकारी गराएको हो ।‘टाइटल स्पोन्सर मिस्टर बी प्रालिले गर्ने भयो,’ क्लबका महासचिव किरण ढकालले भने, ‘त्यसैले यस पटक प्रतियोगिताको नाम नै ‘मिस्टर बी आठौ गोर्खाली रनिङ कप’ राखेका छौँ ।’ अन्य सहयोगीदाताहरुको पनि खोजी भइरहेको उनले जानकारी दिए ।

हरमटारी खेलमैदानमा हुने प्रतियोगिताको उपाधि बिजेताले रनिङ कपको साथमा ३ लाख ३३ हजार ३३३ नगद पुरस्कार पाउने छन् । अघिल्लो बर्षको तुलनामा यो एक लाख बढी हो । त्यस्तै उपबिजेता टिमले १ लाख ६६ हजार ६६६ नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र पाउने आयोजक क्लबले जनाएको छ । प्रतियोगिताको सर्वाेकृष्ट खेलाडीलाई २० हजार नगद पुरस्कार दिइने बताइएको छ । त्यस्तै सर्वाेत्कृष्ट स्ट्राइकर, मिड फिल्डर, गोलरक्षक, डिफेन्डर र गोलकर्तालाई १० हजारका दरले पुरस्कार दिइने क्लबका महासचिव ढकालले बताए ।

व्यवसायिक खेलाडी उत्पादन गर्दै खेल क्षेत्रमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको क्लबका अध्यक्ष जीवन गुरुङले बताए । ‘यो जिल्लाकै सर्वाधिक राशीको प्रतियोगिता हो, यसपटकको नारा गोर्खालीको सान समग्र गोरखा चिनाउने हाम्रो अभियान भन्ने हो,’ उनले भने । १२ गतेसम्म संचालन हुने प्रतियोगितामा कुल १६ टिमको सहभागीता रहने उनले जानकारी दिए । माघ ३० गतेभित्र टिम दर्ता गरिसक्नुपर्ने र दर्ता शुल्क १५ हजार लाग्ने आयोजक क्लबले जनाएको छ । खेलको टाइसिट भने फागुन ४ गते सार्वजनिक हुने बताइएको छ । प्रतियोगिता सम्पन्न गर्न करिव २८ लाख रकम लाग्ने अनुमान गरिएको छ । २०७० सालदेखि क्लबले प्रतियोगिता गर्दै आएको छ । कोभिडका कारण तीन बर्ष प्रतियोगिता गर्न नसकिएको क्लबले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्