| शुक्रबार, बैशाख १७, २०८३

पालुङ्टार सहित २० विमानस्थलमा एयर स्पोर्टस् सञ्चालन गर्ने तयारी

दरौँदी ः सरकारले सञ्चालनमा नआएका विमानस्थललाई एयर स्पोर्टस् ग्राउण्डका रुपमा प्रयोग गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नीति नै बनाएर प्रयोगमा नआएका विमानस्थललाई एयर स्पोर्टस् ग्राउण्डका रुपमा प्रयोग गर्ने रणनीति बनाएको हो ।
यो योजना मन्त्रालयले आफ्नो ५ वर्षे कार्ययोजनामा पनि राखेको छ । ठूलो लगानी गरेर निर्माण गरिएका विमानस्थल गौचरणमा परिणत भएपछि मन्त्रालय नयाँ नीति बनाएर केही भए पनि आम्दानी गर्ने रणनीतितर्फ उन्मुख भएको हो । ‘मन्त्रालयले प्रयोगमा आउन नसकेका विमानस्थलमा एयर स्पोर्टस् एक्टिभिटिज सञ्चालन गर्ने तयारी गरेको छ’ संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले भने, ‘यसअन्तर्गत अल्टूालाइटदेखि प्याराग्लाइडिङ सञ्चालन गर्ने मन्त्रालयको योजना छ ।’ सरकारले गोरखाको पालुंटार विमानस्थल, बाग्लुङको बलेवा विमानस्थल, बैतडीको बैतडी विमानस्थल, बझाङको बझाङ विमानस्थल, दाङको दाङ विमानस्थल, दार्चुलाको दार्जुला विमानस्थल, ढोरपाटन विमानस्थल, डोटी विमानस्थल, जीरी विमानस्थल, काङलेडाँडा विमानस्थल, लाङटाङ विमानस्थल, महेन्द्रनगर विमानस्थल, मनाङ विमानस्थल, मसिनेचौरे विमान स्थल, मेघौली विमानस्थल, राजविराज विमानस्थल, रोल्पा विमानस्थल, साँफेबगर विमान स्थल, स्याङ्बोचे विमान स्थल, टिकापुर विमानस्थल सञ्चालन नआएपछि विमानस्थल लाई एयर स्पोर्टस् ग्राउण्डका रुपमा प्रयोग गर्ने तयारी गरेको हो । एयर स्पोर्टस् ग्राउण्डको रुपमा अल्ट्रालाईट र प्याराग्लाइडिङ सञ्चालन गर्ने तयारी गरिएको हो । के हो अल्ट्रालाइट ?
अल्ट्रालाइट भनेको हल्का किसिमको विमान हो । जसमा एकपल्टमा एक जना यात्रु र एक जना चालक गरी दुई जनामात्र बस्न मिल्छ । अल्टूालाइट अहिले हिमश्रृंखला नजिकबाट नियाल्नको लागि लोकप्रिय भएको पाइन्छ । नेपालमा व्यावसायिक रुपमा पोखरामा अल्टूालाइट सञ्चालनमा छन् । सन् १९९७ बाट नै यस्ता विमान पोखरामा सञ्चालनमा छन् ।
पोखरामा आउने विदेशी तथा नेपाली पर्यटकबीच लोकप्रिय अल्ट्रालाइट विमानबाट त्यहाँका प्रमुख आकर्षण फेवाताल, बेगनासताल हिमश्रृंखलाहरु, वनजंगल, पहाड तथा त्यहाँका ग्रामीण भेगको दृष्यावलोकन गर्न पाइन्छ ।प्याराग्लाइडिङ भने देशका विभिन्न ठाउँमा सञ्चालनमा छ । नियमितदेखि कुनै निश्चित चाडपर्व तथा मेला महोत्सवमा प्याराग्लाइडिङ उडाउने गरेको पाइन्छ । पोखरामा भने नियमित रुपमा प्यराग्लाइडिङ सञ्चालनमा छ । पोखरामा सन् २०१७ मा १९ हजार २७१ जनाले प्याराग्लाइडिङ गरेको तथ्यांक छ । नेपाल एयर स्पोर्टस् एसोसिएसन पोखराका अनुसार यसमा विदेशी पर्यटकको संख्या १४ हजार ३८४ थियो ।
विमानस्थलमा एयर एक्टिभिटिज सञ्चालनका लागि मन्त्रालयले व्यावसायिक कम्पनीलाई आग्रह गर्ने तयारी गरिरहेको छ । ‘नीति नै बनाएर हामी यसबारे व्यावसायिक कम्पवनीहरुलाई आग्रह गर्ने तयारीमा छौं । लोकेशनले पनि यसमा व्यवसायी आकर्षित हुने(नहुने निर्धारण गर्ला ।’ सरकारले अल्ट्रालाइट र प्याराग्लाइडिङ सञ्चालनका रणनीतिक योजना बनाए पनि पर्यटक नजाने दुर्गमा जिल्ला तथा क्षेत्रका विमानस्थलमा भने व्यवसायी आकर्षित हुने सम्भावना कमै रहने मन्त्रालयकै एक अधिकारी बताउँछन् । नेपालमा हाल २० वटा विमानस्थल प्रयोगविहिन छन् । ‘विभिन्न कारणले हामीसँग २० वटा एयरपोर्ट सञ्चालमा छैनन् । बलेवा र राजविराज एयरपोर्ट भने भर्खर सञ्चालनमा आएका छन् । २४ वटा विमानस्थल भने सञ्चालनमा छन’ नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले भने । आवश्यकता र सञ्चालन सम्भावनाका आधारमा भन्दापनि जनप्रतिनिधि तथा नेताको पहुँचका आधारमा विमानस्थल बन्ने गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले अब हचुवाका भरमा विमानस्थल सञ्चालनमा नआउने र आवश्यक नभएका ठाउँमा विमानस्थल निर्माण गर्न आफूले नदिने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्