
पन्ध्रौं जराङ कपको उपाधि आरएफसीलाई
गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा वडा नं ८ जराङमा सम्पन्न भएको ‘१५ औं जराङ कप २०८०’को उपाधि आरएफसीले जितेको छ । जनप्रेमी युवा क्लब जराङको आयोजना माघ १ गतेदेखि सुरु भएको नगद एक लाख राशीको खुल्ला सेभेन ‘ए’ साइट फुटबल प्रतियोगिताको उपाधि आरएफसीले जितेको हो । प्रज्वल देवकोटाको एक मात्र निर्णयक गोलले आरएफसी बिजयी बनेको हो । प्रतियोगितामा अन्नपूर्ण युवा क्लब मसेल उपविजेता बनेको छ ।
प्रतियोगिताका बिजेता टिमलाई १ लाख एघार रुपैयाँसहित कप मेडल र प्रमाण पत्र प्रदान गरिएको क्लबका अध्यक्ष किसान गुरुङले जानकारी दिए । उपविजेताले ५० हजार ५५ रुपौयाँसहित कप मेडल र प्रमाण पत्र प्राप्त गरेको उनले बताए । प्रतियोगिताको सेमिफाइनलमा पुगेका थ्रीस्टार युवा क्लब मसेल र आयोजक टिमले पनि दश हजार प्राप्त गरेका छन् ।
खेलमा उत्कृष्ट खेलाडी अन्नपूर्णका हेमन्त गुरुङ बनेका छन् । खेलमा आरएफसीका सन्तलाल तामाङले सार्वाधिक ६ गोल गरेका थिए । आरएफसीकै दिपेश गुरुङ बेष्ट डिफेन्डर र रबिन गुरुङ उत्कृष्ट किपर बनेका छन् । उनीहरुलाई दुई/दुई हजार पुरस्कार प्रदान गरिएको अध्यक्ष गुरुङले बताए । गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले बिजेता तथा उपबिजेतासहित उत्कृष्ट बनेकाहरुलाई पुरस्कार वितरण गरेका थिए ।
जनप्रेमी खेल मैदान जराङमा भएको प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो । प्रतियोगिता ५ दिन सम्म चल्ेको थियो । प्रतियोगिताको पहिलो दिन सांस्कृतिक कार्यक्रमहरु पनि गरिएको आयोजकले बताएकोे छ ।




