| शुक्रबार, अशोज १५, २०८३

उमेर हद नाघेको खेलाडी सहभागी गराएको भन्दै गोरखा नगरपालिकाको भलिबल टिम विरुद्ध उजुरी

गोरखा सदरमुकाममा सम्पन्न भएको ११ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा गोरखा नगरपालिकाको भलिबल टिम विरुद्ध उजुरी परेको छ । आरुघाट गाउँपालिकाको भलिबल समूहले गोरखा नगरपालिकाको भलिबल समू विरुद्ध उजुरी दिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्तसिंह बस्नेतले बताए ।

गोरखा नगरपालिकाले भलिबल समूहमा उमेर हद नाघेका खेलाडीलाई सहभागी गराएको भन्दै आरुघाटको भलिबल टिमले उजुरी हालेको उनले जानकारी दिए । उक्त उजुरीबारे अहिले छानविन भइरहेको उनले बताए । छानविन समितिले प्रमाण जुटाउनका लागि गोरखा नगरपालिकासँग कागजात मागेको र यदि उजुरी गर्नेको प्रमाण पुगेको खण्डमा विजेताबाट पदक खोसिने उनले बताए । उमेर नाघेको बिषयमा प्रमाण नपुगेको खण्डमा यथावत हुने उनको भनाइ छ । समितिले एकदुई दिन भित्रमा निर्णय दिने उनले बताए ।

फाइनल खेलमा आरुघाट गाउँपालिकाको भलिबल टिमलाई पराजित गर्दै गोरखा नगरपालिकाको भलिबल टिमले स्वर्ण पदक जितेको थियो ।

जिल्ला खेलकुद विकास समितिको सदस्यको संयोजकमा रहेको छानविन समितिमा पालिकाका सामाजिक विकास समितिबाट एकजना र रेफ्रीमध्य एक जना सदस्य रहने उनले बताए ।

हालै सम्पन्न भएको राष्ट्रपनि रनिङ शिल्डको उपाधि भने सिरानचोक गाउँपालिकाले जितेको थियो । अव जिल्लास्तरीय प्रतियोगिता सम्पन्न भएसँगै प्रदेशको तयारीमा रहेको बस्नेतले बताए । उनका अनुसार प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आगामी पौष २६, २७ र २८ गते हुदैछ ।

प्रतिक्रिया दिनुहोस्