
गोरखा नगरपालिकामा चौथौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु
गोरखा नगरपालिकाको वडा नं १० को छेपेटारस्थित खेलमैदानमा नगरपालिकास्तरीय चौथौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । तारा माविको आयोजना तथा गोरखा नगरपालिकाको आर्थिक सहयोग तथा व्यवस्थापनमा विभिन्न झाँकी बाजागाजासहित ¥याली आयोजना गरी सोमबारबाट रनिङशिल्ड प्रतियोगिता सुरु भएको हो ।
नगरपालिका भित्रका १५ वटा सामुदायिक र तीन वटा बोर्डिङ गरी १८ वटा माविका विद्यार्थीहरु प्रतियोगितामा सहभागी रहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख चन्द्रबहादुर खड्काले बताए । सोमबारबाट भएको खेलको पहिलो दिन तीन वटा खेल सम्पन्न भएका छन् । प्रतियोगिताको पहिलो दिन एक सय, चार सय र १५ मिटरको दौड सम्पन्न भई पुरस्कार पनि वितरण गरिएको उनले जानकारी दिए ।
उनका अनुसार प्रतियोगितामा समूहतर्फ फुटबल, भबिल, कबड्डी, दौडतर्फ एक सय, दुई सय, चार सय मिटर, आठ सय मिटर, १५ सय मिटर, तीन हजार मिटर र रिलेतर्फ ४ सय मिटर, १६ सय मिटरको दौडमा सहभागी विद्यालयका विद्यार्थीहरुले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै, हाइजम्प, लङजम्प, त्रिपल जम्प, सटपुट र ज्याब्लिङ थ्रोमा विद्यार्थीले प्रतिस्पर्धा गर्ने उनले जानकारी दिए ।
पुस २ गतेबाट सुरु भएको प्रतियोगिता ४ गते सम्पन्न हुनेछ । गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा अध्यक्ष प्रदीप कुँवर, शिक्षक महासंघ गोरखाका अध्यक्ष गोपालबाबु मरहट्टा, विद्यालयका प्रध्यानाध्यपक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतले मन्तव्य राखेका थिए ।




