| शुक्रबार, अशोज १५, २०८३

सिरानचोकमा चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

सिरानचोक गाउँपालिकामा चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको वडा नं ७ बडहरे रंगशालामा मंगलबारबाट सुरु भएको प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा सम्बोधन गर्दै पाण्डेले यस प्रकारका प्रतियोगिताले नयाँ प्रतिभावान खेलाडीहरु उत्पादन हुने र यो उनीहरुको लागि अवसर भएको बताए ।

अहिले व्यवसायिक रुपमा खेलाडीहरुले पनि खेलको माध्यमबाट राष्ट्रलाई विश्वमा चिनाउन सफल भएको उनले जानकारी दिए । प्रदेश सरकारबाट बिकासे योजनाको माग धेरै आएको तर सरकारसँग पर्याप्त बजेट नहुदाँ सबैको माग पूरा गर्न नसकिएको उनले बताए ।

प्रतियोगितामा गाउँपालिका भित्रका १५ वटा माध्यमिक बिद्यालयबाट करिब ४ सय ५० विद्यार्थी सहभागी रहेको गाउँपालिकाका स्रोत शिक्षक कृष्ण पोखरेलले बताए ।

१९ गतेबाट सुरु भएको प्रतियोगिता २१ गते सम्म चल्ने छ । प्रतियोगितामा छात्र र छात्राको १५÷१५ विधामा प्रतिस्पर्धा हुने पोखरेलले बताए । प्रतियोगिताको पहिलो दिन तीन किलोमिटर, एक सय मिटर, चार सय मिटर दौड र सटपुट खेल सम्पन्न भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्