| शुक्रबार, अशोज १५, २०८३

इच्छाकामना म्याराथुन दौडमा प्रथम र तेस्रो पनि गोरखाकै

प्रथम इच्छाकामना म्याराथुन दौड प्रतियोगितामा प्रथम र तृतीय स्थान गोरखाले हात पारेका छन् । म्याराथुनमा सहिदलखन गाउँपालिकाका सन्जय श्रेष्ठ प्रथम र सिरानचोकका दिनेशसिँह बोगटी तृतीय भएका छन् ।

श्री सिद्धबाबा इच्छाकामना संरक्षण समिति र इच्छाकामना त्रिवेणी केन्द्रले शुक्रबार संयुक्त रुपमा आयोजना गरेको म्याराथुनको निर्धारित १३ किलोमिटर दुरी सहिदलखन गाउँपालिका ६ घैरुङका श्रेष्ठले एक घण्टा १४ मिनेटमा दौड पार गरेका थिए । उनले नगद रु २० हजार सहित ट्रफी , मेडल र प्रमाण पत्र प्राप्त गरेको कार्यक्रम संयोजक झलक गुरुङले बताए ।

त्यस्तै आबुखैरेनी गाउँपालिका १ बरादीका सनम गुरुङले एक घण्टा १७ मिनेट १३ सेकेण्डमा दौड पूरा गरी दोस्रो भएका थिए । उनले नगद रु १० हजारसहित ट्रफी , मेडल र प्रमाण पत्र प्राप्त गरेका संयोजक गुरुङले जानकारी दिए ।

दौडमा निर्धारित १३ किलोमिटर दुरी एक घण्टा १७ मिनेट ५४ सेकेण्डमा पार गर्दै सिरानचोक गाउँपालिकाका दिनेशसिंह बोगटी तेस्रो भएको उनले बताए । आबुखैरेनी गाउँपालिकाका प्रेम गुरुङले निर्धारित दुरी एक घण्टा ४२ मिनेटमा पार गर्दे चौथो भएका थिए । उनीहरुलाई क्रमश नगद ७ सहजार ५ सय र पाँच हजार सहित प्रमाणपत्र र मेडल प्रदान गरिएको उनले बताए । दौड प्रतियोगितामा पुरुष तर्फ कुल एक सय १० जना सहभागी थिए ।

सो म्याराथुन दौडमा महिला तर्फबाट इच्छाकामना गाउँपालिका ५ बनेलटारकी देवीमाया गुरुङ प्रथम र सोही गाउँपालिका वडा नं ४ कुरिनटारकी जमुना रानामगर दोस्रो भएकी थिइन् । उनीहरुलाई क्रमश ५ हजार र २५ सय नगद सहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको कार्यक्रम संयोजक झलक गुरुङले बताए । महिलातर्फ कुल ६ जना सहभागी भएका थिए ।

त्यस्तै, चेपाङ समुदायलाई पनि म्याराथुन दौडमा प्रोत्साहन गरिएको बताउदै कार्यक्रम संयोजक गुरुङले दौडमा सहभागी भएका मध्यबाट पहिलो र दोस्रो हुनेलाई पुरस्कृत गरिएको बताए । उनका अनुसार निर्धारित दुरी एक घण्टा ४८ मिनेटमा पार गरी श्याम चेपाङ प्रथम र निर्धारित दुरी एक घण्टा ४९ मिनेटमा पार गर्दै विष्णु चेपाङ दोस्रो भएका थिए । उनीहरुलाई क्रम नगद रु तीन हजार, दुई हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको बताए ।

मुग्लिन बजार देखि भएको दौड प्रतियोगिता फुर्केडाडा, पानीघट्ट, घुर्लिश्वरा खर्पन तामिन नेपेडाडा किटस्वरा बदेलटार चिसोपानी हुदै इच्छाकामना मन्दिरमा टुङ्गिएको थियो ।

इच्छाकामना मन्दिरमा पच्चमी मेला लाग्ने अवसरमा मध्य नजर गर्दे म्याराथुन दौड प्रतियोगिता आयोजना गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्