
यू–१३ अन्तर बिद्यालय फुटवल प्रतियोगिता अन्तरगत पाँच खेल सम्पन्न
गोरखा नगरपालिका–९ दलभन्ज्याङस्थित खेलमैदानमा जारी नवौ ओसन कप यू–१३ अन्तर बिद्यालय लिग फुटवल प्रतियोगिता अन्तरगत शुक्रवार पाँच खेल भएका छन् ।
पहिलो खेल सरस्वती मावि र रत्नराज्य मावि बीच भएको थियो । उक्त खेलमा २–० को गोल अन्तरले रत्नराज्य मावि बिजयी भएको छ । सूर्यमुखी बोर्डिङ र रत्नलक्ष्मी मावि बीच भएको दोस्रो खेलमा ६–२ को गोल अन्तरले सूर्यमुखी बोर्डिङ बिजयी भएको आयोजक द ओसन क्लबले जनाएको छ ।
प्रतियोगिता अन्तरगतको तेस्रो खेलमा नवज्योती माविलाई २–१ को गोल अन्तरले पछि पार्दै महालक्ष्मी मावि बिजयी बनेको छ । द ओसन क्लब र लक्ष्मी सामुदायिक शिक्षा सदन बीच भएको चौथो खेलमा २–० को गोल अन्तरले ओसन क्लब बिजयी भएको छ । पाँचौ खेल मोर्डन सेकेण्डरी बोर्डिङ र सरस्वती मावि बीच भएको थियो ।
उक्त खेलमा १–० को गोल अन्तरले मोर्डन सेकेण्डरी बोर्डिङ बिजयी बनेको आयोजकले जनाएको छ । बाँकी खेलहरु आज शनिवार हुने क्लबका सचिव सविन खत्रीले बताए ।
प्रतियोगितामा गोरखा नगरपालिका भित्रका नौ वटा बिद्यालयको सहभागीता रहेको छ । प्रतियोगितामा पहिलो हुने टिमले सात हजार पाँच सय, दोस्रो हुनेले तीन हजार पाँच सय नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक क्लबले जनाएको छ । त्यस्तै प्लेट फाइनल जित्न सफल हुने टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र दिइने बताइएको छ ।




