
पाँचौ नुब्री मनास्लु कपको उपाधि साम्दो फुटबल क्लवलाई
समुद्री सतहबाट ३३५० मिटर उचाइमा अवस्थित सामागाउँमा सम्पन्न भएको नुब्री मनास्लु कप फुटबल प्रतियोगिताको पाँचौँ श्रृङ्खलाको उपाधि साम्दोले प्राप्त गरेको छ । चुमनुब्री २ को स्यालास्थित पेमा सम्भव स्याला स्कुलको आयोजनामा भएको फुटबल प्रतियोगितामा साम्दो फुटबल क्लवले उपाधि जितेको हो ।
मंगलबार सम्पन्न फाइनल खेलमा आयोजक स्याला फुटबल क्लवलाई पराजित गर्दै साम्दोले उपाधि जितेको हो । फुटबल प्रतियोगितामा प्रथम भएको टिम साम्दोले नगद एक लाखसहित ट्रफी, मेडल र प्रमाण प्राप्त गरेको स्थानीय निमा दोर्जे लामाले बताए ।

फुटबल प्रतियोगितामा दोस्रो स्थान हाँसिल गर्न सफल पेमा सम्भवा स्याला फुटबल क्लवले नगद ५० हजारसहित मेडल, प्रमाणपत्र प्राप्त गरेको छ भने तेस्रो भएको बिही फुटबल क्लवले नगद २५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा चुमनुब्री गाउँपालिका वडा नं. १, २, ३, ४ र ५ का गरी १० टिमको सहभागिता रहेको थियो ।
उत्तरी गोरखका युवाहरुबीच मेलमिलापको भावना विकास गर्न र स्थानीयहरु बीच एकआपसमा मेलमिलापको भावना जोगाउन सोनाम दोर्जे लामाले पहिलो पटक २०७३ सालबाट नुब्री मनास्लु कप फुटबल प्रतियोगिताको आयोजना गरेका गर्न सुरु गरेका थिए । सोहि समयबाट निरन्तर प्रतियोगिता आयोजना हुदै आएको छ ।

केहि बर्ष कोरोना महामारीका कारण स्थगित भएको र अहिले निरन्तर संचालन हुदै आएको छ । हरेक वर्ष फरक फरक क्लवले फुटबल प्रतियोगिता आयोजना गर्दै आएका छन् । आगामी वर्षमा हुने छैटौँ नुब्री मनास्लु कप ल्ही फुटबल क्लवले आयोजना गर्ने जनाएको छ ।
(तस्वीरहरु : निमा दोर्जे लामाको फेसबुक ।)




