
आजदेखि आठौँ ओसन कप, १२ टिम प्रतिस्पर्धा गर्दै
गोरखामा आजदेखि आठौँ ओसन कप अण्डर थर्टिन फुटबल प्रतियोगित सुरु हुँदैछ । गोरखा नगरपालिका ९ दलभञ्ज्याङस्थित द ओसन क्लवको प्रशिक्षण मैदानमा सुरु हुने प्रतियोगितामा बिभिन्न जिल्लाका १२ वटा टिम सहभागी हुनेछन् ।
टिम ए मा द ओसन क्लव दलभञ्ज्याङ, नमुना स्पोट्र्स क्लव ललितपुर, गैरीबारी स्पोटर्स क्लव चितवन, वालिङ युनाईटेड स्याङ्जा, सोसल वेलफेयर स्पोटर्स काठमाण्डौँ र नव जनजागृति युवा क्लव बारा रहेको छ ।
यस्तै समूह बीतर्फ द ओल्ड क्यापिटल मावि रानीवन, काठमाडौँ किकर्स, अल स्टार फुटबल क्लव आँबुखैरेनी, लक्ष्मी सामुदायिक शिक्षा सदन लक्ष्मीबजार, अनुशासित ब्वाईज क्लव काठमाण्डौँ र काँकडभिट्टा फुटबल टूेनिङ सेन्टर झापा रहेको छ ।
आजदेखि सुरु हुने प्रतियोगिता चार दिन चल्नेछ । बिजेता टिमले नगद २० हजार र उप बिजेताले १० हजार सहित टूफि मेडल, प्रमाणपत्र दुबै टिमले पाउनेछ । उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको ब्यवस्था रहेको आयोजक द ओसन क्लवले आईतवार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ ।
लिग र नकआउट चरणमा गरी खेल खेलाईनेछ । हरेक टिमले पाँचदेखि आठ वटा सम्म खेलहरु खेल्नेछन् । यो प्रतियोगिता सम्पन्न गर्न नौ लाख रुपैयाँ खर्च लाग्ने आयोजक द ओसन क्लवका अध्यक्ष अमित खत्रीले बताए ।
गोरखा मेयर युवा फुटबल बिकास परियोजना अन्तरगत द ओसन क्लवले यो आठौँ संस्करण गर्न लागेको हो । गोरखा नगरपालिका कार्यालय, वडा नम्बर ९ को कार्यालय लगायत गोरखाका अन्य स्थानीय तह, फुटबल प्रेमी ब्यक्तिहरुबाट सहयोग संकलन हुने क्रम रहेको अध्यक्ष खत्रीले बताए ।
प्रतियोगितामा सहभागी हुन आएका खेलाडीहरुलाई बिहानको खाजा र खाना आयोजक क्लवले ब्यवस्थापन गरेको छ । आबासकालागि भने सहभागी क्लवले ब्यवस्थापन गरेका छन् । १३ वर्ष मुनिका खेलाडीहरुलाई खेल सिप सिकाउन सक्ने हो भने भबिष्यमा युवा खेलाडी उत्पादन गर्न सकिने उद्देश्यले प्रतियोगित आयोजना गरिएको आयोजक क्लवका प्रतिनिधि मोहन गुरुङले बताए ।
फरक फरक जिल्लाका खेलाडीबिच फुटबल खेलाउँदा एकअर्कामा सिप सिक्न, सिकाउन सक्ने, अनुभव आदान प्रदान हुने, खेल्ने कलामा निखारता आउने र खेलाडीको क्षमतावृद्धी हुने अपेक्षा लिइएको द ओसन क्लवका अध्यक्ष खत्रीले बताए ।




