
मिलेर खेल्दा ‘गेम’ जितिन्छ भन्ने सन्देश खेलकुदले दिन्छ : तिमिल्सना
नेपालमा राजनीतिक अस्थिरता र नेताहरु नमिल्दा देशले समृद्धि हाँसिल गर्न नसकेको संकेत गर्दै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मिलेर कसरी ‘गेम’ जित्न सकिन्छ भनेर नेताहरुलाई सिकाउने काम पनि खेलले गर्न सक्ने बताएका छन् । गोरखा सदरमुकामको हरमटारी रंगशालामा मंगलबारदेखि सुरु भएको दशौँ जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगितामा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
नेपालमा राजनीनिक दलका नेताहरु नमिलेका कारण देश विकास हुन नसकेको र देशमा राजनीतिक अस्थिरता बढ्दै गएको बताउँदै समूहमा खेलाडीहरु मिलेर खेल जितेजस्तै नेताहरु मिले देश बनाउन सकिने बताएका हुन् ।
‘खेल बहुआयामिक छ, खेलाडीहरुले खेलकुदबाट नै देशको नाम चम्काउन सक्छ, परिवारका लागि प्रशस्त सम्पति कमाउन सक्छ, उच्च प्रतिष्ठा राख्न सक्छ, शारीरिक स्वस्थता हुन्छ, खेलले खेलाडीलाई अनुशासित, निरोगी, सक्षम बनाउछ’, उनले भने, ‘व्यक्तिगत प्रतिस्पर्धा बाहेक धेरै खेलहरु मिलेर खेल्नुपर्छ । मिलेर कसरी जितिन्छ भन्ने कुरा नेपालका नेताहरुलाई पनि खेलले सिकाउन सक्छ । हामी मिल्यौँ, खेल जित्यौ, नेताहरु मिल्नु भएन, त्यसैले देश विकास भएन भन्ने त खेलाडीले बनाउन सक्छ नि ।’
सामुहिक रुपमा सबै खेलाडी मिलेर खेल जिते जस्तै नेताहरु सबै मिल्नुपर्ने देश विकासमा लाग्नुपर्ने उनको भनाइ छ । नेपाल राजनीतिक र सामाजिक परिवर्तनसँगै खेलकुद क्षेत्रमा पनि परिवर्तन गर्न आवश्यक रहेको उनले बताए । यसका लागि नेपालमा खेलकुद गतिविधि संचालनका लागि विकासका पुर्वाधारहरु नभएकाले आवश्यकता अनुसार पुर्वाधारहरु निर्माण गर्नुपर्ने बताए ।
त्यस्तै, खेलाडी बन्न चाहाने बालबालिकाहरुलाई सानै देखि नै योजनाबद्ध ढंगले उनीहरुको मानसिक, शारीरिक, रुची अनुसार खेलकुदमा वातावरण सिर्जन गरिदिनुपर्ने बताए । पछिल्ला समयमा नेपालमा पनि अधिकांश खेलाडीहरुले खेलमा लागेर आफनो व्यक्तिगत जीवनलाई आयआर्जन, प्रतिष्ठा लगायत धेरै क्षेत्रमा अरु भन्दा उत्कृष्ट बनाउदै लगेको उनले बताए ।
कार्यक्रममा गोरखाका विभिन्न पालिकाबाट छनौट भएर आएका खेलाडीहरु जिल्ला, प्रदेश, राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने हुनुपर्नेमा उनले जोड दिए । साथै खेलकुद क्षेत्रमा अव व्यवसायिकरणमा गर्नुपर्ने समेत उनले बताए ।




