| आइतवार, कार्तिक २२, २०८३

दृष्टिविहीन क्रिकेट प्रतियोगितामा गोरखा उपविजेता

प्रदेश स्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । गोरखा नेत्रहिन क्रिकेट संघ उपविजेता बनेको छ ।

वीरगन्जमा आयोजित प्रतियोगिताको शनिबार सम्पन्न फाइनलमा गण्डकी प्रदेशको गोरखा नेत्रहिन क्रिकेट संघलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै मधेस प्रदेश नेत्रहिन क्रिकेट संघले उपाधि जितेको हो ।

वीरगन्जको नारायणी रंगशालाको क्रिकेट मैदानमा भएको खेलमा ७८ रनको लक्ष्य मधेस प्रदेश नेत्रहिन क्रिकेट संघले ९.४ ओभर खेल्दै १ विकेटको क्षतिमा पुरा ग¥यो । पहिले व्याटिङ गरेको गण्डकी प्रदेशको गोरखा नेत्रहिन क्रिकेट संघले १८.३ ओभरमा अलआउट हुदै ७७ रन बनाएको थियो । प्रतियोगिताको म्यान अफ दि सिरिज मधेस प्रदेशका नवीन तमाङ घोषित भए ।

उपाधिसँगै मधेस प्रदेशले नगद ३० हजार रुपैयाँ र ट्रफी हात पारेको छ । उपविजेता गण्डकी प्रदेशको गोरखा नेत्रहिन क्रिकेट संघले नगद १५हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगिताको समापन समारोहमा विजेता र उपविजेता टिमलाई वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल र वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका वाणिज्यदूत शैलेन्द्र कुमार नगद पुरस्कार र ट्रफी प्रदान गरे ।

नेपाल नेत्रहीन क्रिकेट संघ र मधेस प्रदेश नेत्रहीन क्रिकेट संघको संयुक्त आयोजनामा बुधबारदेखि भएको प्रतियोगितामा चार प्रदेशका टिमले भाग लिएका थिए । प्रतियोगितामा प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश सहभागी भएको नेपाल नेत्रहीन क्रिकेट संघका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा १६ महिलासहित ६० जना दृष्टिविहीन खेलाडीले भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्