| आइतवार, कार्तिक २२, २०८३

शहिदलखनमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु

गोरखाको शहिदलखन गाउँपालिकामा प्रथम शहिदलखन थापा मगर स्मृति तथा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको वडा नं ७ स्थित काहुले भंगार, बुङकोटमा शनिबारबाट राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको हो ।

उक्त प्रतियोगितालाई गाउँपालिका अध्यक्ष रमेश थापामगरले उद्घाटन गरेका थिए । माघ २८ गतेबाट सुरु भएको प्रतियोगिता फागुन १ गते सम्म संचालन हुने छ ।

उक्त राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगितामा पालिका भित्रका ११ वटा विद्यालयबाट करिब साढे दुई सय भन्दा बढी खेलाडी सहभागिता रहेको गाउँपालिकाका शिक्षा अधिकृत राजेन्द्र खनालले बताए । प्रतियोगितामा २८ विद्यालयमा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने बताउदै शनिबार पहिलो दिन १० विद्याको खेल सम्पन्न भएको उनले जानकारी दिए ।

प्रतियोगितामा भलिबल, हाइजम्प लङजम्प, छेलो, कवडी, रिले दौड लगायत खेलमा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने गाउँपालिकाले जनाएको छ ।

खेलाडीहरुको शारीरिक, मानसिक, संवेगात्मक विकास गराउन र भविष्यमा देशको लागि राम्रो खेलाडी उत्पादन गर्न राष्ट्रपति रनिङशील्ड प्रतियोगिता आयोजना गर्दै आएको छ । अव पालिकाबाट छनौट भएको खेलाडीहरु फागुन १६ गतेबाट सुरु हुने जिल्लास्तरीय प्रतियोगितामा सहभागि हुनेछन् ।

गोरखा जिल्ला स्तरीय दशौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागनु १६ गते देखि १८ गते सम्म हुने जिल्ला खेलकुद विकास समिति गोरखाले जनाएको छ ।

सो प्रतियोगितामा ११ वटै पालिकाबाट खेलाडीहरु सहभागि हुनेछन् । हरमटारी खेलकुद मैदान हुने प्रतियोगितामा करिब १२ लाख खर्च हुने जिल्ला खेलकुद विकास समिति गोरखाका अध्यक्ष शान्तासिं बस्नेतले जानकारी दिए । प्रतियोगितामा खेलाडीहरुले ३६ विद्यालयमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्