
नवौं राष्ट्रिय खेलकुद : प्याराग्लाइडिङ दुर्घटनामा हुदाँ गोरखाका २६ वर्षीय थापाको मृत्यु
नवौं राष्ट्रिय खेलकुदमा सहभागी गोरखा घर भएका एक जना प्याराग्लाइडिङ खेलाडीको खेलका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापा रहेको कस्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाईडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट सारङकोटस्थित जमिनमा खस्दा उनको मृत्यु भएको हो ।
पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाबाट सहभागी २६ वर्षिय निशिम पोखरा सराङकोटबाट उडान भरेका थिए । ‘उडान लगत्तै उनको प्याराग्लाइडिङ हेर्दाहेर्दै झ¥यो, एक प्रत्यक्षदर्शीले भने–“उनी सोझै पोखरा १८ सराङकोटस्थित एक निर्माणाधिन भवनमा खसेर घाईते भए । उनको घटनास्थलमै मृत्यू भयो ।’
सारङकोटबाट उडे लगत्तै १०० मिटरमाथिबाट खसेका उनलाई मेट्रोसिटी अस्पताल पठाएकोमा डाक्टरले मृत घोषित गरेका हुन् ।
लामो समय देखि अस्थायी रुपमा पोखरा–१० अस्पतालचोक बस्दै आएका उनी प्याराग्लाइडिङ प्रतियोगिताहरुमा सहभागिता जनाउदै आएका थिए । उनको स्थायी घर भने गोरखा पालुङटार नगरपालिका पर्दछ । उनी प्याराग्लाइडिङ खेलाडीहरुको छाता संस्था एफएआईका कम्पिटिशन वरियता प्राप्त खेलाडी समेत हुन् ।
उनको निधनसँगै आज हुने भनिएका प्याराग्लाडिङका सबै खेलहरु रुद्ध भएको आयोजकले जनाएको छ ।




