
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका सहभागी खेलाडीको विदाई
गोरखाबाट नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने खेलाडीलाई विदाई गरिएको छ । गोरखा सदरमुकाममा बुधबार एक कार्यक्रमका बीच प्रदेशस्तरको प्रतियोगितामा गोरखाबाट सहभागी हुने खेलाडीहरुलाई विदाई गरिएको हो ।
गण्डकी प्रदेशमा हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा गोरखाबाट १५ खेलमा खेलाडीहरु सहभागी हुने जिल्ला खेलकुद विकास समिति गोरखाले जनाएको छ । जसअन्र्तगत गोरखा जिल्लाबाट क्रिकेट, भलिवल, कबड्डी र कराँते, एथलेटिक्स, जुडो, व्याटमिन्टन, फुटवल लगायतका खेलमा खेलाडीहरु सहभागी हुनेछ । त्यस्तै फुल कन्ट्याक्ट, उसु, स्क्वास, टेवल टेनिस र बक्सिङ खेलमा पनि गोरखाबाट खेलाडीहरु सहभागी हुनेछन् ।

उक्त प्रतियोगिता सहभागी हुने खेलाडीहरुलाई जितको शुभकामना दिँदै जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहन थापाले खेलाडीहरुलाई बिदाई गरे । गोरखाका खेलाडीहरु सबै खेलमा अब्बल दर्जाको रुपमा प्रस्तुत हुन समेत उनले आग्रह गरे ।
जिल्ला खेलकुद बिकास समितिले प्रतियोगितामा सहभागी हुने खेलाडी भदौं १० गतेसम्म छनोट सम्पन्न गरेको थियो । जिल्ला छनोटपछि प्रादेशिक छनोट प्रतियोगिताबाट राष्ट्रियका लागि गण्डकीको टोली तयार हुनेछ ।

हरेक दुई दुई बर्षमा खेलकुद प्रतियोगिता संचालन हुदै आएको छ । तर विगत दुईबर्षदेखि कोरोना संक्रमणको कारण सञ्चालन हुन सकेको थिएन । यो बर्ष यही आउँदो असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म प्रतियोगिता सञ्चालन हुने जनाइएको छ ।




