
लिगलिगकोट–गोरखादरबार म्याराथुन दौड प्रतियोगिता हुने
गोरखामा लिगलिगकोटबाट सिरानचोक हुँदै गोरखा दरबारसम्मको म्याराथुन दौड प्रतियोगिता हुने भएको छ । द्रब्य शाहले राज्यभिषेक गरेको दिन भदौ २५ गतेको अवसर पारेर म्याराथुन दौड आयोजना गर्न लागेको मूल आयोजक समारोह समितिले जानकारी गराएको हो ।
गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र नेपाली सेनाको आयोजनामा म्याराथुन दौड हुन लागेको बिहिबार पत्रकार सम्मेलन गरी आयोजकले जनाएको छ ।
लिगलिगकोटको राजा भएपछि गोरखा राज्य प्रवेश गरेको बाटोको प्रवद्र्धन गर्दै म्याराथुन हुन लागेको हो । लिगलिगकोटबाट सुरु हुने दौड आँपपिपल, हर्मी, छोप्राक, चोरकाटे हुदै पस्लाङबाट गोरखा दरबारसम्म पुगेर सम्पन्न हुने गोरखा नगरपालिकाका मेयर कृष्ण रानामगरले बताए । ‘नेपालको उत्पतिदेखि जगसम्म’ को अबधारणा रहेको प्रतियोगिताले गोरखा जिल्लामा रहेको ऐतिहासिक एवम धार्मिक स्थलहरुको प्रचार प्रसारमा सहयोग गर्ने उद्देश्य रहेको उनले जानकारी दिए ।
४० किलोमिटरको दुरी रहेको सो प्रतियोगिता २०७६ सालमा पहिलो पटक भएको थियो । त्यसपछि कोभिडका कारण हुन नसकेको सो प्रतियोगिताको यो दोस्रो संस्करण हुन लागेको उनले बताए ।
१५ लाख रुपैया खर्च हुने अनुमान गरिएको दौडमा बिजेता हुने प्रथमदेखि दशौँसम्मका लागि पुरस्कारको ब्यवस्था रहेको पालुङ्टार नगरपालिकाका मेयर विवश चिन्तनले बताए । जसमा क्रमश १ लाख ५० हजार, १ लाख, ७५ हजार, ५० हजार, ३५ हजार, ३० हजार, २५ हजार, २० हजार, १५ हजार र १० हजार नगदसहित प्रमाणपत्र पाउनेछन । गोरखाको ऐतिहासिक क्षेत्रको इतिहास, मौलिक संस्कृति जर्गेना गर्दै लैजाने र संस्कारको विकास र विस्तार गर्ने उद्देश्यले म्याराथुन प्रतियोगिता राखेको सिरानचोक गाउँपालिकिा अध्यक्ष ज्ञानेन्द्र गुरुङले बताए ।
नेपाल एकीकरण कसरी भयो ? लिगलिगकोटको इतिहासका बारेमा नयाँ पुस्तालाई जानकारी दिन र नेपालको इतिहासलाई विश्वभरि फैलाउनका लागि भनेर म्याराथुन दौडले सहयोग पु¥याउने पालुङटार नगरपालिका मेयर विवश चिन्तनले बताए । नेपाली सेनाको स्थापनाको इतिहास र लिगलिगकोटमा दौडेर राज हुने चलन लगायतका इतिहासका बारेमा नयाँ पुस्तालाई जानकारी गराउन लिगगिकोट गोरखा दरबार सम्मको दौड प्रतियोगिताले धेरै सहयोग पु¥याउने उनको भनाइ छ ।
पहिलो संकरणमा १ सय ५८ जनाको सहभागिता रहेको दौडमा यो पटक भने करिब ३०० जना सहभागी हुने अनुमान गरिएको छ । प्रतियोगितामा सहभागी हुन चाहनेले यही भदौको २० गतेभित्र अनलाइनमार्फत नाम दर्ता गर्न सक्नेछन् ।
समग्रमा खेलको माध्यमबाट पर्यटन तथा इतिहासको जगेर्नामा समेत टेवा पुग्ने नेपाली सेनाको रिपुमर्दन गणका सेनानी प्रकाश परियारले बताए । इतिहासलाई संरक्षण गर्दै पर्यापर्यटनको विकास गर्नमा दौड प्रतियोगिताले धेरै मद्दत पुग्ने जिल्ला समन्वय समितिका प्रमुख मोहन थापामगरले बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहन थापा, गोरखा नगरपालिकाका उपमेयर सपना पुन लगायतको सहभागिता रहेको थियो ।




