
गोरखा लिग च्याम्पियन बन्यो सतिपिपल क्लव
अखिल नेपाल फुटबल संघ(एन्फा) गोरखाको आयोजनामा भएको जिल्ला लिग फुटबल २०७८ को उपाधि सतिपिपल क्लवले उचालेको छ । हरमटारी क्लवलाई २–१ गोल अन्तरले पछिपार्दै सतिपिपलले उपाधि उचालेको हो । लिग च्याम्पियन सतिपिपलले नगद एकलाख सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उसले गण्डकी प्रदेश स्तरीय लिग खेल्ने अवसर पनि पाएको एन्फा गोरखाका महासचिव बिशाल गुरुङले बताए ।
उपबिजेता हरमटारी क्लवले नगद ५० हजार रुपैयाँ, मेडल र प्रमाण पत्रमा चित्त बुझाएको छ । ए पोलबाट लिग बिजेता हरमटारी र बी पोलबाट बिजेता सतिपिपल बीच फाईनल खेल भएको थियो । गोरखा नगरपालिका १० स्थित छेपेटार मैदानमा भएको फाईनलको पहिलो हाफमा सतिपिपले हरमटारीलाई दबावमा राखेको थियो । २–० गोल अन्तरको खेल खेलेको हरमटारीले दोस्रो हाफमा भने सतिपिपललाई दबावमा राख्यो । एकगोल फर्काएको हरमटारीले केही सुनौलो मौका गुमायो भने सतिपिपलले पनि केही अवसर खेर फाल्यो । अन्ततः खेल २–१ गोल अन्तरमा सकिएको थियो ।
फागुन २१ गतेदेखि भएको प्रतियोगितामा एन्फा गोरखामा आवद्ध बिभिन्न ११ टिम सहभागी थियो । एन्फाले फेयर प्लेको उपाधि नगद पाँच हजार सहित च्याङ्ली स्पोटर्सलाई दिएको छ । सर्वोत्कृष्ट खेलाडी हरमटारी क्लवका सुदीप क्षेत्री घोषित भए भने उत्कृष्ट गोलरक्षक सतिपिपल क्लवका रबिन गुरुङ घोषित भए । मिल्ड फिल्डर हरमटारीका बिप्सन गुरुङ, स्टाईकर सतिपिपलका सन्तबहादुर तामाङ र उत्कृष्ट डिफेन्डर सतिपिपलका प्रज्वल देवकोटा घोषित भए । उनीहरुले क्रमशः ३५ सय नगद सहित प्रमाण पत्र र मेडल पाए ।
बिजयी टिम र उत्कृष्ट खेलाडीलाई एन्फाका केन्द्रीय अध्यक्ष कर्माछिरिङ शेर्पाले पुरस्कार बितरण गरेका थिए । कार्यक्रममा बोल्दै उनले फुटबलको बिकेन्द्रिकरणका लागि देशका बिभिन्न जिल्लामा राम्रो मैदान बनाउनुपर्ने, एन्फाले हरेक जिल्लामा लिग गरेर नयाँ खेलाडी उत्पादनमा जोड दिनुपर्ने धारणा राखे । छेपेटार स्थित मैदानका लागि एन्फाबाट सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।
गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिब गुरुङको प्रमुख आथित्यतामा शनिवार जिल्ला लिगको फाईनल खेल भएको थियो । मन्त्री गुरुङले गोरखा स्थित हरमटारी खेलमैदान र छेपेटार मैदानको डिपिआर गर्न चालु वर्ष नै बजेट बिनियोजन गर्ने बताए । साथै उनले एन्फा गोरखालाई एक लाख नगद र पाँच वटा फुटबल पनि हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले आफुले नगरपालिका भित्र खेलकुदको बिकासका लागि प्राथमिकता दिएको बताए । साथै उनले दरौँदी बगरमा अहिले बनेको सुन्दर मैदानलाई अझै ब्यवस्थित गर्न बाँकी रहेको बताए ।
पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कंडेलले एन्फा गोरखा सँग सहकार्य गरेर पालुङटार क्षेत्रमा पनि फुटबलको बिकास गर्ने योजनामा साथ दिन अनुरोध गरे । एन्फा गोरखा अध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा कार्यक्रममा भएको हो ।




