५३ किलोमिटर लिगलिगे साईकल दौड दुई घण्टा २५ मिनेटमा पुरा(फोटो फिचर)
गोरखाको पालुङटारदेखि सिरानचोक, लमजुङको राईनासहुँदै लिगलिगकोटसम्म आयोजना गरिएको खुल्ला साईकल दौडमा सुरज राना पहिलो भएका छन् । ५३ किलोमिटर दुरी दुई घण्टा २५ मिनेट ४८ सेकेण्डमा पारगर्दै एपिएफमा आवद्ध सिन्धुपाल्चोकका राना पहिलो भएका हुन् ।

यस्तै गोरखाका प्रकाश थापाले दुई घण्टा २५ मिनेट ५० सेकेन्ड र धादीङका लक्ष्मण मल्लले दुई घण्टा २५ मिनेट ५१ सेकेण्डमा उक्त दुरी पुरा गर्दै दोस्रो र तेस्रो भए । दोस्रो हुने थापा भारतीय सेनामा कार्यरत छन् भने तेस्रो हुने मल्ल एपिएफमा आवद्ध छन् । मेन ईलिट तर्फको यो प्रतियोगितामा ३७ जना सहभागी भएको देबेन्द्र बस्नेतले बताए । महिला तर्फ छ जना सहभागी मध्येबाट त्रिभुवन आर्मी क्लवमा आवद्ध गोरखाकी उषा खनाल पहिलो भईन । निर्धारित दुरी दुई घण्टा ५५ मिनेट ५८ सेकेण्डमा खनालले पुरा गरिन । तीन घण्टा ११ मिनेट १७ सकेन्डमा दुरी पार गर्दै मञ्जुकुमारी खड्का दोस्रो भईन । तीन घण्टा १७ मिनेट ४५ सेकेन्डमा दुरी पार गर्दै इन्द्रकला नेम्वाङ तेस्रो भईन ।

मेन मास्टर विधा तर्फ तीन घण्टा चार मिनेट ५८ सेकेन्डमा दुरी पुरा गर्दै नयन मानन्धर पहिलो भए । तीन घण्टा पाँच मिनेट ५९ सेकेन्डमा दुरी पुरा गर्दै बिदेशी नागरिक जोस्चोन स्टेवार्ड दोस्रो भए भने तीन घण्टा १५ मिनेट पाँच सेकेन्डमा दुरी पुरा गर्दै बिकास महर्जन तेस्रो भए । यो विधामा ९ जना सहभागी थिए ।

बिभिन्न बिधामा बिजेताहरुले ट्रफि, मेडल, प्रमाण पत्रको साथ क्रमस २५, २०, १५ हजार पुरस्कार पाए । प्रतियोगितामा १० औँ स्थान सम्म हाँसिल गरेकालाई पुरस्कारको ब्यवस्था रहेको आयोजक लिगलिग भेलेज स्पोटर्सका अध्यक्ष सञ्जिव राना मगरले बताए । बिजेतालाई गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिब गुरुङले पुरस्कार बितरण गरेका थिए । गण्डकी प्रदेश भित्र तर्फबाट प्रकाश थापा मगर पहिलो भए । हिक्मत बिके दोस्रो र खुसीमान घर्ती तेस्रो भए । गण्डकी तर्फ महिलामा उसा खनाल पहिलो, केसरी थापा दोस्रो भईन । पालुङटार नगरपालिका भित्रका मध्येबाट सुरज रानाभाट पहिलो भएभने प्रभात रोका दोस्रो भए ।

बिभिन्न बिधामा गरी ५२ जना सहभागी रहेको आयोजक सदस्य बसन्त बस्नेतले बताए । १० वर्षका पुर्णराज तामाङले पनि सहभागीता जनाएका थिए । बिजेताहरुलाई पुरस्कार बितरण गर्दै गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिब गुरुङले साईकल रेसले लिलिगकोटको पहिचान गर्न र नयाँ इभेन्टको रुपमा बिकास गर्न मद्धत पुग्ने बताए ।

चेपे दोभानदेखि लिगलिगकोटसम्म दौडेर राजा हुने परम्परा रहेको त्यहाँ साईकल रेस प्रतियोगिताले पालुङटारको पहिचान अझै बढ्ने पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कँडेलले बताए । नेपालमा प्रख्यात र ब्यवशायिक रुपमा साईकल रेस गर्ने खेलाडीहरु आउने भएकाले स्थानीयको आयस्रोतमा सकारात्मक प्रभाव पर्ने अपेक्षा नगरपालिकाको छ ।

लिगलिगकोटको प्रचारप्रसार गरी पर्यटन विकास गर्ने उद्देश्यले ‘दोस्रो लिगलिगे साईकल दौड’ गरिएको लिगलिग भिलेज स्पोटर्सका अध्यक्ष संजिव राना मगरले बताए । ‘एकदिन हामीले कार्यक्रम आयोजना गरेर वर्ष भरि साईकलयात्री यहाँ आउन र यहाँको आर्थिक गतिविधि बढोस् भन्ने उद्देश्य छ’ अध्यक्ष राना मगरले भने । कार्यक्रममा जिल्ला समन्वय प्रमुख अशोक गुरुङ, सिरानचोक गाउँपालिका प्रमुख राजु गुरुङ लगायतको सहभागीता रहेको थियो ।

पालुङटार नगरपालिकाको सहयोग र नेपाल साइकल संघको सहकार्यमासाइकल दौडको आयोजना भएको हो । राजिष्टूेशनका लागि नेपाली र विदेशी सबैलाई दुई हजार रुपैया मात्र शुल्क निर्धारण गरिएको थियो । प्रतियोगितामा सहभागीलाई दुई रात बसोबासको ब्यवस्था गरिएको थियो । दौडका लागि पालुङटार नगरपालिबाट पाँच लाख रुपैयाँ, युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेशले दुईलाख रुपैयाँ उपलब्ध गराएको र बाँकी रकम संघ संस्था र ब्यक्तिहरुबाट संकलन गरिएको आयोजक संस्थाका प्रतिनिधि विजय पाण्डेले बताए ।




