
अन्डर थर्टिन फुटबलमा महालक्ष्मी विजयी, वल्ड क्यापिटल दोस्रो
गोरखा नगरपालिका भित्रका विद्यालय बीच भएको अन्डर थर्टिन फुटबल प्रतियोगितामा महालक्ष्मी मावि लक्ष्मीबजार विजयी बनेको छ ।
गोरखा नगरपालिका ९ दलभञ्ज्याङस्थित द ओसन क्लवको कृत्रिम घाँसेमैदानमा भएको प्रतियोगितामा महालक्ष्मी मावि लक्ष्मीबजार ५–२ गोल अन्तरमा द वल्ड क्यापिटल माविलाई जितेको हो ।
खेलको पहिलो हाफ बराबरी खेलेका वल्ड क्यापिटलले महालक्ष्मीलाई दबावमा राखेको थियो भने दोस्रो हाफ महालक्ष्मीले वल्ड क्यापिटललाई दबावमा राख्यो । खेलमा बिजयी खेलाडी र विद्यालयलाई गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले ट्रफि, मेडल बितरण गरेका हुन् ।
खेलाडीको प्रतिभाको बिकास गर्दै खेल क्षेत्रमा पनि गोरखालाई चिनाउन नगरपालिकाले बिभिन्न खाले प्रतियोगिता संचालन गर्दै आएको उनले बताए । विद्यालय तहदेखि नै खेल क्षेत्रमा विद्यार्थीलाई प्रेरित गर्न सक्ने हो भने दक्ष खेलाडी बनाउन सकिने उनले बताए ।
उक्त प्रतियोगितामा गोरखा नगरपालिका भित्रका बिभिन्न १५ विद्यालय सहभागी रहेको द ओसन क्लवका अध्यक्ष अमित खत्रीले बताए । उक्त प्रतियोगिताका लागि गोरखा नगरपालिका वडा नम्बर ९ ले एक लाख रुपैयाँ सहयोग गरेको वडा अध्यक्ष कुलबहादुर कुँवरले बताए ।
छ हप्ता देखि संचालन भएको अन्डर थर्टिन फुटबल प्रतियोगिताको फाईनल खेल शनिवार भएको हो । द ओसन क्लवका उपाध्यक्ष बिनिता खत्रीको अध्यक्षतामा कार्यक्रम भएको हो ।
खेल अवधी भर एक सय ८० जना खेलाडीले उक्त मैदानमा खेल्ने अवसर पाएका क्लवका सचिव सबिन खत्रीले बताए । ओसन क्लवले निर्माण गरेको मैदानले खेलाडीको खेल क्षमता अभिवृद्धी गर्दै खेल प्रति प्रेरित गरेको उनले बताए ।




