| बिहिबार, असार १०, २०८३

गण्डकी रक क्लाइम्बिङको उपाधि दिपेन र पञ्चलाई

तनहुँको विमलनगरमा सम्पन्न पहिलो रक क्लाइम्बिङ प्रतियोगितामा पुरुषतर्फ दिपेन गुरुङ र महिलातर्फ पञ्चमाया तामाङ च्याम्पियन बनेका छन् ।

शुक्रबारदेखि आइतबारसम्म सञ्चालन भएको प्रतियोगितामा एकसय जनाको प्रतिस्पर्धा रहेकोमा गुरुङ र तामाङ च्याम्पियन बनेका हुन् ।
पुरुषतर्फ सुलभ राई दोस्रो र तेन्जिङ राई तेस्रो भएका छन् भने महिलातर्फ रुषा प्रधान दोस्रो र जापानका खेलाडी सेवा सुजिता तेस्रो भएकी छन् ।
विजेता प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ५०, २० र १० हजार नगदसहित मेडल र प्रमाणपत्रले सम्मान गरिएको आयोजक गण्डकी अल्पाइन क्लवले जनाएको छ ।

पहिलोपटक तनहुँको बन्दीपुर गाउँपालिकाको विमलनगरमा गण्डकी प्रदेशस्तरीय रक क्लाइम्बिङ फेस्टिबलको आयोजना भएको थियो ।
फेस्टिवलमा रक क्लाइम्विङ प्रतियोगिता, रक क्लाइम्विङ कार्यशाला गोष्ठी र साहासिक खेलबाट पर्यटन प्रबर्धन गर्ने बारे छलफल भएको थियो ।
नेपालकै उत्कृष्ट मध्येमा पर्ने विमलनगरको चुन पहराको रक क्लाइम्बिङ स्पटलाई अन्तरर्राष्ट्रिय जगतसम्म थप प्रवर्धन गर्न फेस्टिबलले सहयोग गरेको आयोजक गण्डकी अल्पाइन क्लवका अध्यक्ष नरेन शाहीले बताए ।

प्रतियोगितामा माउन्टेन गाइड नरेन्द्र शाही, अनुप गुरुङ, सुमन गुरुङ, विनायक जय मल्ल र पिम्वा तेन्जिङ लामा भोटेले निर्णयकको भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्