| आइतवार, कार्तिक २२, २०८३

ओसन क्लवद्वारा पुस १७ गतेदेखि चौथो फुटबल मेला आयोजना


गोरखा नगरपालिका ९ दलभञ्ज्याङमा चौथो फुटबल मेला आयोजना हुने भएको छ । शुक्रबार पत्रकारहरु सम्मेलन गर्दै द ओसन क्लवका अध्यक्ष अमित खत्रीले दुई चरणमा फुलबल मेला गर्ने जानकारी दिएका हुन् ।


चौथो फुटबल मेलाको पहिलो चरणअन्तर्गत गोरखा नगरपालिका भित्रका सामुदायिक र निजी विद्यालयमा अध्ययनरत १३ वर्ष मुनिका खेलाडी बीच फुटबल प्रतियोगिता हुने क्लवका अध्यक्ष खत्रीले बताए । उनका अनुसार चौथो फुटबल मेला दुई चरणमा हुनेछ । पहिलो चरणमा नगरपालिका भित्रका विद्यालयहरु बीच हुनेछ भने दोस्रो चरणमा गोरखा नगरपालिका बाहिरका र जिल्ला बाहिरका १३ बर्षमुनिका खेलाडीहरु पनि सहभागिता हुनेछन् । ‘पहिलो चरणमा गोरखा नगरपालिका भित्रका विद्यालयस्तरमा फुटबल प्रतियोगिता संचालन हुन्छ ।

पुस १७ गतेबाट सुरु हुने फुटबल प्रतियोगितामा २० भन्दा बढी विद्यालयबाट सहभागी हुने अनुमान गरेका छौँ’, उनले भने । हरेक हप्ताको शनिबार मात्र खेल हुने भएकाले उक्त फुटबल प्रतियोगिता माघ अन्तिम सम्म लम्बिने उनले बताए ।


प्रतियोगितामा विजेता र उपविजेता हुने टिमलाई ट्रफी र मेडलको व्यवस्था गरिएको खत्रीले जानकारी दिए । उक्त प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने २४ जना खेलाडीलाई क्लवले छनौट गरी एक वर्षसम्म प्रशिक्षण दिने खत्रीले जानकारी दिए । प्रतियोगिता अवधिभर खेलाडीहरुलाई आउने जाने गाडी भाडा र खाजाको व्यवस्था नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले गर्नेछ । गोरखा नगरपालिको सहयोगमा फुटबल मेला आयोजना गर्न लागेको अध्यक्ष खत्रीले बताए ।


त्यस्तै, दोस्रो चरणको फुटबल प्रतियोगिता चैत्रबाट सुरु हुने उनले बताए । ‘पहिलो चरणका विजेता र उपविजेता दुई टिम, पोखरा, तनहुँ, स्याङ्जा, पोखरा, चितवनबाट एक÷एक टिम, काठमाडौको ४ टिम र आयोजकको तर्पmबाट एक टिम सहभागी हुन्छन् । सबै गरेर कुल १२ टिम हुन्छ’ अध्यक्ष खत्रीले भने । प्रतियोगिता विजेता, उपविजेता टिमले नगद, ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको क्लवले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्