| आइतवार, असार २८, २०७७

गोरखा उद्योग वाणिज्य संघद्वारा राउण्ड गोरखा बजार पदयात्रा(फोटो फिचरसहित)

 

गोरखा उद्योग बाणिज्य संघले नेपाल भ्रमण बर्ष २०२० को सन्दर्भ पारेर शनिबार पदयात्राको आयोजना गरेको छ । ‘गोरखा जाऔँ—पदयात्रामा सहभागी बनौँ’ भन्ने मूल नाराका साथ संघले माघ २५ गते, शनिबार पदयात्रा आयोजना गरेको पदयात्रा कार्यक्रम ब्यवस्थापन समितिका संयोजक भगवानबाबु मास्केले जानकारी दिए ।

शनिबार बिहान साँढे छ बजे गोरखा संग्रहालय परिसर(ठूलोआँगन)मा भेला भएर पदयात्रा सुरु भएको थियो । सो अवसरमा गोरखा उद्योग वाणिज्य संघको अध्यक्ष जीवनज्योति श्रेष्ठले स्वागत गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारी, गोरखा नगरपालिकाकी उपप्रमुख विना श्रेष्ठ, सशस्त्र प्रहरीका गोरखा प्रमुख, नेपाली सेनालगायत जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधिहरु, स्थानीयबासी, व्यापारी, वुद्धिजीवि, पदयात्रामा गोरखाका होटल ब्यबसायी, महिला उद्यमी, समाजसेवीहरु सहभागी थिए ।


पदयात्रा पँदेली, वीपीचोक, छिपिटोल, नयाँबजार, नयाँबसपार्क, पश्चिमकाली, नामरुङ मन्दिर, पस्लाङ होमस्टे हुदै द्रब्यशाह चौतारोमा पुगेर नास्ता खाने कार्यक्रम भएको थियो । सो अवसरमा पश्चिमकाली मन्दिरको स्थापना तथा त्यहाँको अहिलेको अबस्थाका बारेमा संस्थापक पुजारी भीमबहादुर बस्नेतले जानकारी गराएका थिए । त्यस्तै द्रव्यशाह चौतारा आदिको बारेमा इतिहासका जानकार गणेश भट्टराईले जानकारी दिएका थिए ।


नास्तापछि खड्गदेवी मन्दिर, चिल्ड्रेन पार्क, मैदानकाली, बौद्ध गुम्बा, सतिपिपल, गैरीकुवा, मानेपानी, विन्ध्यावासिनी मन्दिर हुँदै भीमसेन पार्क पुगेर खाना खाने कार्यक्रम भएको थियो । त्यस्तै खाना खाएर भीमसेन पार्कबाट हिँडेको पदयात्राका टोली पिपलथोक भीमसेन मन्दिर, जर्नेल धारा, बज्रभैरव, उपल्लोकोट, छत्रेढुङ्गा, रानीवन सरस्वती आश्रम, बराह मन्दिर, पाटेचौर, तीनधारे हुँदै छहरेमा रहेको गोरखा उद्योग बाणिज्य संघको सचिवालयमा चियापान कार्यक्रम गरेर सकिएको थियो ।

गोरखाको आन्तरिक पर्यटन बिकास र प्रवद्र्धनमा यो पदयात्राको महत्वपूर्ण भूमिका रहने संघका अध्यक्ष श्रेष्ठले दावी गरे । ‘गोरखामा घुम्न आउने पर्यटकहरुलाई लाग्छ कि गोरखामा घुम्ने ठाउँ भनेकै गोरखा संग्रहालय र दरबार मात्रै हो’, उनले भने, ‘तर, गोरखामा घुम्ने ठाउँ दरबार र संग्रहालय मात्रै हैन अन्य ठाउँपनि छन् भनेर प्रचारप्रसार गर्ने उदेश्यले हामीले यो कार्यक्रम गरेका हौँ ।’ गोरखामा पर्यटन प्रबद्र्धन गर्न उद्योग बाणिज्य संघले सम्पूर्ण सरोकारवालाहरुसँग समन्वय गरेर अघि बढ्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्