| बिहिबार, अशोज २, २०७६

गोरखा राज्य स्थापना दिवसमा गोरखा म्याराथुन : भीमबहादुर गुरुङ विजयी

अनुपमा खनाल :

४६० बर्षअघि अर्थात बि.सं. १६१६ को भदौ २५ गते लिगलिगकोटका राजा द्रव्य शाहलाई गोरखा दरबारमा ल्याएर राज्यभिषेक गरेको दिन हो । त्यही दिनको सम्झनामा बुधबार गोरखा नगरपालिका, पालुङ्टार नगरपालिका, सिरानचोक गाउँपालिका र नेपाली सेनाको रणसिँह दल गणले लिगलिगकोट, सिरानचोक, गोरखा दरबार म्याराथन दौडको आयोजना गरे ।

बुधबार बिहान ७ बजेर १० मिनेट जाँदाको समयमा सुरु भएको थियो । पालुङ्टार नगरपालिकाको लिगलिगकोट, सिरानचोक गाउँपालिकाको चित्रेपोखरी हुदै गोरखा नगरपालिकाको गोरखा दरबारसम्मको ४२ किलोमिटर दौड तीनघण्टा १७ मिनेट दुई सेकेण्डमा पार गरी भीमबहादुर गुरुङले उपाधि हाँसिल गरे । प्रतियोगी ११३ जनालाई पछि पार्न सफल गुरुङले नगद एक लाख ५० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

आरुघाट गाउँपालिका वडा नं. ३ थुमी निबासी गुरुङ पूर्व नेपाली सेनाका हुन् । उनी अहिले अन्तर्राष्ट्रिय म्याराथनमा सहभागी हुने गरेका छन् । प्रतियोगितालाई दौडको रुटको भुगोलका आधारमा म्याराथन नभई अल्ट्रा ट्रेल रेसका रुपमा विकास गर्नुपर्ने विजयी गुरुङले सुझाव दिए ।

सो म्याराथनमा रुकुमका दुर्गाराज बुढा दोस्रो भएका छन् । उनले निर्धारित दुरी तीन घण्टा १७ मिनेट ४५ सेकेण्डमा पार गरेका थिए । बुढाले एकलाख रुपैयाँ सहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली सेनाका रणवम दल गणका सबिन लामाले निर्धारित दुरी तीन घण्टा ३० मिनेट २ सेकेण्डमा पूरा गरी तेस्रो हुन सफल भएका छन् । उनले ७५ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र पुरस्कार पाएका छन् ।

‘नेपालको उत्पत्तिदेखि जगसम्म’ भन्ने नाराका साथ गोरखा नगरपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका र नेपाली सेनाको रणसिँह दल गणको आयोजनामा भएको म्याराथनमा उत्कृष्ट १० धावकलाई पुरस्कृत गरिएको छ ।

जसअनुसार तनहुँका सुरेन्द्र चापागाई चौथो, मोरङका याङ्देव राई पाँचौं, सशस्त्र प्रहरीका खेमबहादुर खत्री छैटौं, नेपाली सेनाको श्रीनाथ गणका जुनेश खड्का सातौ, रणसिंह दलका रामजी बस्नेत आठौं, नेपाली सेनाको श्रीजंग गणका दोर्जे तामाङ नवौं र गोरखनाथ गणका कृष्णसुन्दर टुईटुई दशौं भएका छन् । प्रतियोगितामा चौथो, पाँचौं, छैटौं, सातौ, आठौं, नवौ र दशौ हुनेले क्रमश नगद ५० हजार, ३५ हजार, ३० हजार, २५ हजार,२० हजार, १५ हजार र दश हजारका साथमा मेडल र प्रमाणपत्र पाएका छन् ।

म्याराथन पछि आयोजित पुरस्कार वितरण समारोहमा सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङले चार सय ६० बर्ष पहिले लिगलिगकोटका राजा द्रब्यशाहले गोरखा राज्यमा राज्याभिषेक गरेको दिनको स्मरणमा उनले प्रयोग गरेको पदमार्गलाई आधार बनाएर म्याराथन गरेको जानकारी दिए । यो प्रतियोगितालाई बर्षेनी निरन्तरता दिने उनको भनाई छ ।

इतिहास चिनाउन र फैलाउन म्याराथन सफल भएको पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कडेंलले बताए ।
नेपाल एकीकरणको उद्गम थलो गोरखाको इतिहास जगेर्ना गर्दै पर्यटन प्रबद्र्धनमा सघाउने उदेश्यका साथ प्रतियोगिता आयोजना गरेको गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले बताए । ‘हामीले इतिहासको माध्यमबाट राष्ट्रिय एकताको स्मरण गराउने प्रयास गरेका हौं’, उनले भने ‘पृथ्वी नारायण शाहले एकीकरण गर्ने क्रममा गोरखाबाट नुवाँकोट, हनुमानढोका दरबारसम्म पुगे । यी ठाउँहरुलाई समेत जोडेर युनिफिकेसन ट्रेलका रुपमा विकास गर्ने विषयमा पनि हामी छलफलमा छौं ।’
नेपालको इतिहासमा पहिलो पटक सेनाको गण लिगलिगकोटमा निर्माण भएकाले यो दौडको आयोजना गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा परिचित गराउन दौडको आयोजना गरेको गणपति उज्ज्वल केशीले बताए ।

मेयर पन्तको अध्यक्षतामा भएको म्याराथन समापन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङ, धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङ, प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछाने, नेपाली सेनाको तीन नं बाहिनीका पृतनापति सहायक रथी सागर थापा, नेपाल पत्रकार महासंघका अध्यक्ष किशोरजंग थापा लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्