| आइतवार, कार्तिक २२, २०८३

प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा गोरखाका ८८ खेलाडी सहभागी

अनुपमा खनाल

गण्डकी प्रदेश स्तरीय ११ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मा गोरखाका ८८ खेलाडी सहभागी हुने भएका छन् ।

जिल्लास्तरीय राष्टूपति रनिङ शिल्डमा हरेक विधामा उत्कृष्ट भएका ८८ खेलाडी प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुने भएका हुन् । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको आयोजनामा आज र भोली पोखरामा हुने प्रतियोगितामा सहभागीताका लागि जिल्लाका खेलाडी बुधबार नै पोखरा गएका छन् ।
उनिहरुलाई जिल्ला खेलकुद विकास समितिले बुधबार विहान विदाई गरेको थियो । प्रतियोगितामा सहभागी हुने खेलाडीका लागि उद्योग वाणिज्य संघ गोरखाले ट्रयाकसुट र गोरखा चेम्बर अफ कमर्सले जर्सि उपलब्ध गराएका जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष शान्तसिंह बस्न्यातले जानकारी दिए । गण्डकी प्रदेशका ११ जिल्लाका ९ सय २४ खेलाडीको सहभागिता रहने प्रतियोगितामा मार्शल आर्टतर्फ तेक्वान्दो, कराते, उशु खेल हुनेछन । अन्य खेलमा कब्बडी, भलिबल र एथलेटिक्सका खेलहरु समावेश गरिएको छ । छात्र छात्रा दुबै समुहमा ति खेल हुने बस्न्यातले बताए ।

प्रतियोगितामा धेरै पदक जित्न सफल जिल्लाले आर्कषक राष्टूपती रनिङ शिल्ड प्राप्त गर्नेछ । यो प्रतियोगितामा स्थानियस्तर हुँदै जिल्ला र प्रदेशमा स्वर्ण पदक जित्ने खेलाडीले असार २९ गतेदेखि काठमाण्डौमा शुरु हुने केन्द्रिय राष्टूपती रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन ।

यसैबिच, जिल्लाका नौ स्थानीय तहलाई पछि पार्दै यसबर्षको राष्टूपति रनिङ शिल्ड सिरानचोक गाउँपालिकाले हात परेको छ । सरस्वती मावि आहालेमा भएको जिल्लास्तरीय आठौं राष्टूपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा ६ स्वर्ण, ६ रजत र ६ कास्य सहित १८ पदक हात पार्दै सिरानचोकले उपाधी जितेको हो ।

प्रतियोगितामा ५ स्वर्ण, ४ रजत र ४ कास्य पदक सहित अजिरकोट गाउँपालिले १३ पदकका साथ दोस्रो भएको छ । त्यस्तै ५ स्वर्ण, ४ रजत र २ कास्य गरि ११ पदक सहित सहिद लखन गाउँपालिका तेश्रो भएको छ । शहिद लखनले ११ पदक प्राप्त गरेको आयोजक जिल्ला खेलकुद विकास समिति गोरखाका उपाध्यक्ष शान्तसिंह बस्नेतले जानकारी दिए ।

प्रतियोगितामा आरुघाट गाउँ पालिकाले ५ स्वर्ण, ३ रजत र ५ कास्य पदक जितेको छ । गण्डकी गाउँपालिकाले ५ स्वर्ण, ३ रजत र ४ कास्य, बारपाक सुलिकोट गाउँपालिकाले २ स्वर्ण, १ रजत २ कास्य पदक पाएको छ । भिमसेन थापा गाउँपालिकाले २ स्वर्ण, ५ रजत र ३ कास्य पदक जितेको छ ।

प्रतियोगितामा गोरखा नगरपालिका स्वर्ण पदक विहिन भएको छ । उसले ४ रजत र ३ कास्य सहित ७ पदक मात्र पाएको छ ।

धार्चे गाउँपालिकाले २ रजत र चुमनुब्रीले १ कास्य पदक मात्र जितेका छन् । प्रतियोगितामा एथलेटिक्स, हाइजम्प, लङजम्प, ज्याभलिन थ्रो लगायत ३० विधामा छात्रछात्राविच प्रतिस्पर्धा भएको थियो । पालुङ्टार नगरपालिका बाहेक सबै स्थानिय तह सहभागी प्रतियोगिता असार २२ देखि २४ गतेसम्म सञ्चालन भएको हो ।

प्रतिक्रिया दिनुहोस्