| आइतवार, कार्तिक २२, २०८३

लिगलिग पालुङटार मेयरकपः गोरखा र गैडाकोट, कसले उचाल्ला ट्रफी ?

किरण लोहनी ः पालुङटार नगरपालीकाले आयोजना गरेको पहिलो संस्करणको मेयरकप फूटवलको फाइनल खेल बुधवार हुँदैछ । प्रतियोगिताको उपाधीका लागि गोरखा नगरपालीका र नवलपुरको गैंडाकोट नगरपालीकाले प्रतिस्पर्धा गर्दैछन् । पहिलो संस्करणको लिगलिग पालुङटार मेयर कपको उपाधि उचाल्नेमा दुवै टिमले आ–आफ्नो रणनीतिअनुसारको तयारी गरेको दाबी गरेका छन् । प्रतियोगितामा गोरखा नगरपालीकाले उपाधीका लागि बलियो दावेदारी प्रस्तुत गरेको नवलपुरकै देवचुली नगरपालीकालाई हराउँदै फाइनल यात्रा तय गरेको हो । नवलपुरकै गैंडाकोट नगरपालीकाले भने स्याङ्जाको पुतलीवजार नगरपालीकालाई हराउँदै फाइनल यात्रा पक्का गरेको हो । जारी प्रतियोगितामा गोरखा नगरपालीका र गैंडाकोटले हालसम्म ३÷३ खेल खेलेका छन् । जसमा गोरखा नगरपालीकाले हालसम्म ११ गोल गरेको छ । जारी प्रतियोगितामा उसले एक गोल पनि खाएको छैन ।
गैंडाकोटले भने ३ खेल खेल्दा जम्मा ४ गोल गर्दै २ गोल खाएको छ । मिडफिल्ड राम्रो र स्ट्राइकरहरु चलायमान भएकाले उपाधी जित्नेमा आशावादी रहेको गोरखा नगरपालीकाको टीमका प्रशिक्षक सरोज श्रेष्ठले बताए । ‘हाम्रो डिफेन्स लाइनका खेलाडीहरु चोटग्रस्त छन्, तर चोटकै विचमा पनि उनीहरुकै कारण हालसम्म एक गोल पनि खाएका छैनौं’ श्रेष्ठले भने, ‘हामी उच्च मनोवलका साथ खेल्नेछौं ।’ हालै गोरखा नगरपालीकाको आयोजनामा भएको मेयरकप जितेको वडा नम्वर ६ का खेलाडीको बाहुल्य रहेको गोरखा नगरपालीकाको टिममा सबै घरेलु खेलाडी छन् । फाइनलको प्रतिद्धन्दी गैंडाकोटको मिडफिल्ड पोजिसन राम्रो रहेपनि पोष्टमा आक्रमण गर्ने क्षमता कमजोर देखिएकाले त्यसैको फाइदा उठाउने गोरखा नगरपालीकाको योजना छ । गैंडाकोटका खेलाडीहरुले मंगलवार नवलपुरकै घरेलु मैदानमा फाइनल खेलको तयारी गरेका उपकप्तान रोजन घिमिरेले बताए ।
आफ्नो टिमका गोलकिपर, डिफेन्स र मिडफिल्ड राम्रो भएको उनको भनाई छ । ‘हाम्रो भनेको स्ट्राइकरको फिनिसिङ त्यति राम्रो छैन, मिडफिल्डका खेलाडीमा अनुभवको कमी छैन’ उनले भने । कमजोरी सुधार्दै उपाधी जित्ने गरि खेल प्रस्तुत गर्ने घिमिरेले बताए । गोरखा नगरपालीकाको टिमका बलियो पक्षको चर्चा गर्दै घिमिरेले खेलाडीको स्पिड र पासिङ प्रशंसा गर्न लायक रहेको बताए । गैडाकोटको टीम गोरखाली टिमको डिफेन्समा रहेको कमजोरीको फाइदा उठाउने दाऊमा रहेको बुझिन्छ । घरेलु टोली गोरखालाई स्थानीय दर्शकको समर्थनले पनि आत्मविश्वासका साथ खेल्न थप बल पुग्ने देखिन्छ ।
फाइनल खेल बुधवार मध्यान्ह १२ वजेबाट शुरु हुने आयोजक समितिका प्रचार संयोजक सन्तोष पोखरेलले बताए । त्यसअघि पालुङटार नगरपालीका जनप्रतिनिधि र कर्मचारीविच मैत्रीपूर्ण खेल हुने उनले जानकारी दिए । प्रतियोगिताको विजेताले २ लाख ३४ हजार ५ शय ६७ रुपैया र उपविजेताले १ लाख २३ हजार ४ शय ५६ रुपैया पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १२ हजार ३ शय ४५ र उत्कृष्ट गोलकिपर, स्ट्राइकर, मिडफिल्डर, डिफेण्डरले र उच्च गोलकर्ताले जनही ९ हजार ८ शय ७६ रुपैया पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्