
हरमटारी र नखिपोट छैटौं गोर्खाली रनिङ कप फूटवलको सेमीफाइनलमा
आयोजक हरमटारी क्लव गोरखा र नखिपोट युथ क्लव ललितपुर छैटौं गोर्खाली रनिङ कप फूटवलको सेमीफाइनलमा पुगेका छन् । हरमटारीले मैदानकाली युथ क्लव सतिपिपल र नखिपोटले राप्तीरिभर फूटवल क्लवलाई हराउँदै सेमीफाइनल यात्रा तय गरेका हुन् । आइतबार भएको पहिलो खेलमा हरमटारीले मैदानकालीलाई २-१ गोल अन्तरले हराएको हो । हरमटारीले खेलको १३ औं मिनेटमा जर्सी नम्वर १२ का जमिर मास्केको गोलबाट १-० को अग्रता लिएको थियो । तर १६ औं मिनेटमा मैदानकालीका लागि जर्सी नम्वर ७ का टंक लामाले बराबरी गोल फर्काएका थिए । पहिलो हाफ १-१ को बराबरीमा सकियो । दोस्रो हाफको १२ औं मिनेटमा हरमटारीका लागि जर्सी नम्वर १४ का राज शाहीले दोस्रो गोल थप्दै २-१ को अग्रता दिलाए । मैदानकालीले थप गोल गर्न सकेन र हरमटारीले सेमीफाइनल यात्रा तय ग¥यो ।

आइतबार सम्पन्न दोस्रो क्वाटरफाइनलमा राप्ती रिभर फूटवल क्लव हेटौंडालाई १-० गोल अन्तरले हराउँदै नखिपोट सेमीफाइनलमा पुग्यो । खेलको एकमात्रै निर्णयक गोल नखिपोटका जर्सी नम्वर १४ का दिपेश शाहीले गरेका थिए । दोस्रो हाफको १९ औं मिनेटमा उनले गरेको गोलको मद्धतबाट नखिपोट छैटौं सिजनको गोर्खाली कपमा पनि सेमीफाइनलमा पुगेको हो । हालसम्मको सबै गोर्खाली कपमा सहभागीता जनाउँदै आएको नखिपोट गत सिजनमा पनि उपविजेता बनेको थियो । यसअघि शनिवारको क्वाटरफाइनल खेलबाट बुद्ध युथ क्लव भोटेओडार र त्रिवेणी क्लव मुग्लिन सेमीफाइनलमा पुगिसकेका छन् । फाइनल प्रवेशका लागि सोमबार पहिलो खेलमा आयोजक हरमटारी र बुद्ध युथ क्लव खेल्नेछन् भने दोस्रो सेमीफाइनल खेल त्रिवेणी क्लव मुग्लिन र नखिपोट ललितपुरविच हुनेछ । सेमीफाइनलमा पुग्ने २ टिमले ५० हजार रुपैया पुरस्कार पाउनेछन् । विजेताले २ लाख र उपविजेताले १ लाख रुपैया पुरस्कार पाउने आयोजक हरमटारी क्लवले जनाएको छ ।




