
गोर्खाली रनिङ कपमा शनिबारबाट क्वार्टर फाइनलका खेल
गोरखा सदरमुकाममा जारी छैठौं गोर्खाली रनिङ कप फूटवलमा शनिबारबाट क्वाटरफाइनल चरणका खेल हुने भएका छन् ।
शुक्रवार भएका दुई खेलसँगै प्रिक्वाटरफाइनलको समिकरण पूरा भएको हो । शुक्रवारको पहिलो खेल जित्दै नखिपोट युथ क्लवले क्वाटरफाइनलको यात्रा पक्का गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा खोप्लाङ फुटवल क्लवलाई टाईब्रेकरमा ५–३ गोल अन्तरले हराउँदै नखिपोट अघिल्लो चरणमा पुगेको हो । पहिलो हाफको २३ औं मिनेटमा नखिपोटका लागि जर्सी नम्वर ८ का उत्तम गुरुङले गोल गरेका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको नखिपोटविरुद्ध दोस्रो हाफको तेस्रो मिनेटमै खोप्लाङका लागि जर्सी नम्वर ११ का सुदिप क्षेत्रीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

दोस्रो हाफको १५ औं मिनेटमा नखिपोटका लागि जर्सी नम्वर १६ का सोम थिङले दोस्रो गोल गरेका थिए । दोस्रो हाफको ३० औं मिनेटमा जर्सी नम्वर ७ का सुदीप पाठकको गोलसँगै खोप्लाङले खेल २–२ को बराबरीमा पु¥यायो । निर्धारित र अतिरिक्त समयमा दुबै टीमबाट थप गोल हुने नसकेपछि टाईब्रेकरमा ५–३ गोल अन्तरले नखिपोट क्वाटरफाइनलमा पुग्यो । दोस्रो खेलमा भने आयोजक हरमटारी क्लव बाई पाएर सिधै क्वाटरफाइनल पुगेको छ । प्रतिस्पर्धी भदौरे फूटवल क्लव नआएपछि हरमटारी क्लव सोझै क्वाटरफाइनल पुगेको हो ।
क्वाटर फाइनल अन्तर्गत शनिबार दुई खेल हुनेछन् । पहिलो खेल दिउँसो १ वजे त्रिवेणी क्लव मुग्लिन र एभरेष्ट क्लव चितवन बिच हुनेछ । त्रिवेणीले श्रीजङ गण लमजुङ र एभरेष्टले चेपे आदर्शलाई हराउँदै क्वाटरफाइनल यात्रा तय गरेका थिए ।
आजको दोस्रो खेल बुद्ध युथ क्लव भोटेओडार र रणसिं दल गणविच दिउँसो ३ वजे हुनेछ । प्रिक्वाटरफाइनलमा भोटेओडारले हिमाली युवा क्लव गाँखु र रणसिं गणले दौतरी क्लव चित्रेलाई हराएको थियो ।




