
छैठौं गोर्खाली रनिङ कप फूटवल प्रतियोगिताको तयारी पूरा
गोरखा जिल्लाकै सर्बाधिक पुरस्कार राशी भएको गोर्खाली रनिङ कप फूटवल प्रतियोगिताको छैठौं संस्करण मंगलबारबाट सुरु हुने भएको छ ।
आयोजक हरमटारी क्लवले सोमबार प्रतियोगिता स्थल हरमटारी खेलकुद मैदानमै पत्रकार सम्मेलन गरी प्रतियोगिताको सबै तयारी पूरा भएको जनाएको छ । प्रतियोगिताको उद्घाटन भोली दिउँसो एकबजे गोरखा नगरपालीकाका प्रमुख राजनराज पन्तले गर्ने तय भएको क्लवका अध्यक्ष विशाल गुरुङले जानकारी दिए । कुल १६ टिम सहभागी हुने प्रतियोगिताको उद्घाटन खेल गत वर्षको विजेता त्रिवेणी युथ क्लव मुग्लिन र नेपाली सेनाको श्रीजङ गण लमजुङ बीच हुनेछ ।
प्रतियोगिताको टाईसिट पनि पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ । फागुन १४ गतेसम्म चल्ने छैटौं गोर्खाली रनिङ कपमा गोरखाका ८ र जिल्ला बाहिरका ८ गरी १६ टिमको सहभागीता रहने भएको छ । गोरखाबाट आयोजक हरमटारी क्लव सहित चेपे आदर्श युवा क्लव पालुङटार, द हिमालयन बगैंचा युवा क्लव आरुघाट, खोप्लाङ फुटवल क्लव, रणसिं दल गण, हिमाली युवा क्लव गाँखु, दौतरी क्लव चित्रे र मैदानकाली क्लव सतिपिपल खेल्नेछन् ।
गोरखा बाहिरका क्लवमा साविक विजेता त्रिवेणी सहित श्रीजङ गण लमजुङ, एभरेष्ट क्लव चितवन, आर आर फुटवल क्लव हेटौंडा, नखिपोट युथ क्लव ललितपुर, बिवाई सि भोटेओडार, अल स्टार क्लव आँबुखैरेनी र पोखरा फूटवल क्लवले प्रतियोगितामा सहभागीता जनाउने पत्रकार सम्मेलनमा बताइएको छ । ती समूहहरुबाट केही ए डिभिजन क्लवका खेलाडीले पनि सहभागीता जनाउने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको विजेता क्लवले रनिङ कप सहित २ लाख रुपैया र उपविजेताले १ लाख रुपैया पुरस्कार पाउनेछ । सेमीफाइनलमा पुग्ने २ टिमलाई ५०÷५० हजार रुपैया पुरस्कार दिइने क्लवका अध्यक्ष विशाल गुरुङले जानकारी दिए । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी सहित हरेक विधाका उत्कृष्ट खेलाडीलाई पनि ब्यक्तिगत रुपमा पुरस्कृत गरिने उनको भनाई छ ।
प्रतियोगिता सम्पन्न गर्न २४ लाख ८५ हजार रुपैया लाग्ने अनुमान गरिएको छ । उद्घाटन खेल निशुल्क अवलोकनको अवसर दिने आयोजकले क्वाटरफाइनलसम्मको खेलका लागि २० रुपैया टिकट दर तोकेको छ । सेमिफाइनल र फाइनल खेल हेर्नका लागि भने ५० रुपैयाको टिकट काट्नुपर्नेछ । जिल्लाको फूटवल खेल विकासका लागि भन्दै हरमटारी क्लवले ६ वर्षयता गोर्खाली रनिङ कप फूटवल प्रतियोगिता गर्दै आएको छ ।




