| सोमवार, मंसिर ७, २०८३

प्रहरी प्रशासनको सक्रियता र अपराध नियन्त्रणको खाँचो

पछिल्लो समय गोरखा जिल्लामा चोरी, लुटपाट, लागुऔषध दुव्र्यसनी र सामाजिक अपराधका घटनाहरू क्रमिक रूपमा बढ्न थालेका छन् । प्रहरीको उच्चस्तरीय कार्यसम्पादनको अनुभव बोकेको गोरखामा यो खालको दृश्य देखिनु दुखद हो ।

शान्त र सुरक्षित मानिने जिल्लाको पछिल्लो शान्तिसुरक्षाको अवस्थाले आम नागरिकमा चिन्ता र असुरक्षाको भाव पैदा गरेको छ । समाजमा अपराधका घटना बढ्नुको पछाडि आर्थिक, सामाजिक र मनोवैज्ञानिक लगायतका विभिन्न तत्वहरूको भूमिका रहे पनि शान्तिसुरक्षा कायम राख्ने मुख्य जिम्मेवारी पाएको प्रहरी प्रशासनको कार्यसम्पादन शैली सबैभन्दा गहन हुन्छ ।

विगतदेखिको घटनाक्रमलाई नियाल्ने हो भने एउटा तथ्य स्पष्ट देखिन्छ— जब प्रहरी प्रशासनले कानुन कार्यान्वयनमा दह्रो गरी खुट्टा टेक्छ, तब अपराधीहरूको मनोबल गिर्छ र आपराधिक गतिविधिहरू स्वतः मत्थर हुँदै जान्छन् । यसको ठीक विपरीत, जब प्रशासनिक संयन्त्र फितलो बन्छ, गस्ती र निगरानीमा कमी आउँछ वा अनुसन्धान प्रक्रिया सुस्त हुन्छ, तब अपराधमा संलग्न तत्वहरूले टाउको उठाउने अवसर पाउँछन् । अहिले गोरखामा देखिएको अपराधको बढ्दो ग्राफले कतै न कतै प्रहरी प्रशासनको सक्रियता र कार्यशैलीमाथि प्रश्नचिह्न खडा गरेको छ ।

अपराध भइसकेपछि दोषी खोज्नुभन्दा अपराध हुनै नदिने वातावरण सिर्जना गर्नु कुशल प्रशासनको पहिचान हो । यसका लागि प्रहरीले संवेदनशील क्षेत्रहरूमा नियमित गस्ती बढाउन, सूचना संयन्त्रलाई थप चुस्त बनाउन र सानाभन्दा साना गैरकानुनी गतिविधिलाई पनि सुरुवाती चरणमै निस्तेज पार्न आवश्यक छ । राजनीतिक वा अन्य कुनै पनि दबाब र प्रभावमा नपरी निष्पक्ष रूपमा कानुनी कारबाही अघि बढाउने आँट प्रहरी नेतृत्वले देखाउनुपर्छ ।

नागरिकले निर्भयका साथ बाँच्न र व्यवसाय गर्न पाउनु नैसर्गिक अधिकार हो । तसर्थ, जिल्लाको प्रहरी प्रशासनले आफ्नो कमजोरीको समीक्षा गर्दै अबका दिनमा अझ कडा र प्रभावकारी कदम चाल्न ढिला गर्नु हुँदैन । प्रहरीले दह्रो गरी खुट्टा टेकोस्, अपराधीलाई कानुनी कठघरामा उभ्याओस् र आम गोरखाली जनतालाई शान्तिसुरक्षाको पूर्ण प्रत्याभूति दिलाओस् ।

प्रतिक्रिया दिनुहोस्