
बूढीगण्डकी कटानले जोखिम आर्खेत बजार संरक्षण गर्न जोडबल
बूढीगण्डकीको कटानले जोखिममा रहेको आर्खेत बजार संरक्षण गर्न स्थानीयले जोडबल गरेका छन् । उत्तरी गोरखाको खाद्यान्नलगायत अत्यावश्यक सामग्री आपूर्ति गर्ने बजारका रुपमा रहेको आर्खेत बजार बूढीगण्डकी नदी कटानका कारण उच्च जोखिममा रहेको छ ।
करिब दुईसय घरधुरी रहेको आरुघाट ४ आर्खेत बजार गत असोज २५ गतेको बाढीलेजोखिममा पारेको स्थानीय व्यवसायी परिचित अधिकारीको भनाइ छ । असोज २५ गतेको विनाशकारी बाढीले बूढीगण्डकीको धार परिवर्तन गरी आर्खेततर्फ सोझिएको थियो । ‘बूढीगण्डकीको बाढीले बजार यति रेटिसकेको छ कि, वडा कार्यालयको आँगनको डिल पनि खसाल्न थालेको छ’, उनी भन्छन्, ‘बाढी आउँदा मात्रै होइन, अहिलेसम्म पनि कटान गरेर खसालिरहेको छ । यही पारा हो भने हिउँदकै दिनमा पनि खोलाले बजार बगाउँछ ।’
जतिसक्दो छिटो बजार संरक्षणका लागि पहल गर्न उनले माग गरेका छन् । बाढीले कटान गरेर बजार जोखिम भएपछि गृहमन्त्री सुदन गुरुङले पनि बजारको अवस्थाको अनुगमन गरेर गएका छन् । त्यस्तै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री नन्दप्रसाद न्यौपानेले पनि अनुगमन गरेर फर्केका छन् ।
बजार संरक्षणका लागि तटबन्धको कार्यक्रम तत्काल लागु गर्नुपर्ने अर्का स्थानीय पूर्ण दाहालको भनाइ छ । ‘निरन्तर भासिइरहेको छ । अहिले नै तटबन्ध गरेर संरक्षण गर्न सुरु गर्नुपर्छ’, आरुघाट गाउँपालिकाका पूर्व अध्यक्षसमेत रहेको दाहालले भने, ‘नत्र, बजार रहँदैन ।’
गाउँपालिकाले आफ्नो तहबाट बजार संरक्षणको पहल थालेको पालिका अध्यक्ष राजु गुरुङ बताउँछन् । ‘पालिकासंग ठूलो बजेट त हुँदैन, तैपनि नदीको धार पारिवर्तन गर्न एक्साभेटर लगाउन थालेका छौँ’, उनले भने, ‘खोला उता फर्काइसकेपछि तटबन्धको सुरुवात पनि गर्छौँ ।’ बजार संरक्षणका लागि प्रदेश तथा केन्द्र सरकारले ठूलै परिमाणमा बजेट विनियोजन गरी काम थाल्नुपर्ने गुरुङको भनाइ छ ।
उत्तरी गोरखाको आरुघाट, धार्चे र चुमनुब्री गाउँपालिकाका हजारौँ वासिन्दा खाद्यान्न लगायतका अत्यावश्यक सामग्री किनमेल गर्न तथा ढुवानी गरेर लैजान आर्खेत बजारमै निर्भर छन् ।




