
जाडो छल्न पहिरोको जोखिम मोल्दै झरे लामा विद्यार्थी
प्रतीक्षा आले ।
जाडोयाम सुरु भएसँगै उत्तरी गोरखाको छेकम्पारस्थित चुम गुम्बाका लामा विद्यार्थीहरु तल्लो भेगको गुम्बामा सर्न थालेका छन् । चुमनुब्री गाउँपालिका–७ छेकम्पारका उनीहरु बूढीगण्डकी बाढीले क्षेतविक्षत बनाएको पहिरोमा जोखिम मोल्दै चुम उपत्यकाबाट बेसी झरेका हुन् ।
गत असोज २५ गते बूढीगण्डकीमा आएको बाढीले चुमनुब्री गाउँपालिका–६ लोक्पास्थित क्यान्टिलिभर पुल बगाएको थियो । बाढीले आवतजावतको एक मात्र सहारा पुल बगाएपछि चुमनुब्रीको वडा नं ६ चुम्चेत र ७ छेकम्पारमा नाकाबन्दीको अवस्था सिर्जना भयो । हाल त्यहाँ स्थानीय स्यार खोलामा काठे पुल हालेर अस्थायी रुपमा आवतजावत सुरु गरिएको छ ।
स्यार खोलामा काठे पुल संचालनमा आएसँगै चुम गुम्बाका ३२ जना लामा विद्यार्थीहरुलाई जाडो छल्न बेसी झारिएको त्यहाँका प्रमुख लामा पासाङ फुन्जोले बताए । ‘काठेपुल हालेपछि बल्लतल्ल बच्चाहरुलाई तल त झारियो अब फर्कने बेलासम्म यो पुल बस्ने हो कि होइन । हामी फर्कन पाउने हो कि होइन टुङ्गो छैन’, उनले भने ।
चुम गुम्बाका लामा विद्यार्थीहरु प्रत्येक वर्ष जाडो छल्न हिउँदो अवधिभर फर्पिङस्थित गुम्बामा बस्ने उनले जानकारी दिए । हिमालपारिको चुम गुम्बाका लामा विद्यार्थीहरु हरेक वर्ष जाडोयाम लागेपछि फर्पिङस्थित गुम्बामा झर्छन् । गर्मी बढ्दै गएपछि भने उनीहरु चुमगुम्बामै फर्कने गर्छन् । लामा विद्यार्थीहरु ६ महिना लेकमा र बाँकीको ६ महिना बेसी झर्ने लामा पासाङ फुन्ञ्जो बताउँछन् । ‘दशैँ तिहार लगत्तै बच्चाहरुलाई फर्पिङ झार्छौँ । छेमम्पारमा असाध्यै चिसो बढ्ने र हिउँ समेत पर्ने हुँदा उनीहरुलाई हिउँदोमा तल झार्ने गरेका हौँ’, लामा पासाङले भने, ‘बच्चाहरु अब बैशाख लागेपछि मात्र छेकम्पार फर्कन्छन् ।’
आफूहरु दुई दिन पैदल र एकदिन मोटर चढेर छेकम्पारबाट फर्पिङ पुग्ने गरेको उनको भनाइ छ । यो वर्ष भने बाढीका कारण विद्यार्थीहरुलाई तल, माथि गराउन समस्या भएको उनले बताए । छेकम्पारको चुम गुम्बामा ४ देखि १६ वर्ष उमेर समूहका लामा विद्यार्थीहरु छन् । यो वर्ष बाढीले पुल तथा बाटो बगाएकाले विद्यार्थीहरुलाई मुश्किलले फर्पिङ पु¥याएको लामा पासाङले सुनाए ।
‘पुल नभएको भिरको बाटोमा बच्चाहरुलाई बल्लतल्ल झारियो । छेकम्पारबाट चार पाँचवर्षका बच्चाहरुलाई मान्छे लगाएर बोकेर ल्यायौँ । सर्दीभीरको पहिरोमा ठुला बच्चाहरु पनि बेस्सरी डराएका थिए’, लामाले भने । आफूहरु जसोतसो फर्पिङ आइपुगे पनि फर्कने भने टुङ्गो नरहेको लामा गुरु पासाङ फुन्जोले बताएका छन् । स्यार खोलाको काठेपुल खोलाले बगाए आफूहरु फर्कन सम्भव नरहेको उनले सुनाए ।
बूढीगण्डकी बाढी आएलगत्तै लोक्पामा स्थानीयहरु मिलेर स्यारखोलाको विभिन्न ठाउँमा चारवटा काठेपुल हालेका थिए । उक्त काठेपुल हालेको एकहप्ता नपुग्दै खोलाले बगाएको थियो । स्थानीयहरुले पुन दोस्रो पटक काठेपुल राखेर आवतजावत संचालनमा ल्याएका छन् ।
सर्दिभीरको क्यान्टिपलभर पुल बगाएपछि स्थानीय बासिन्दा, पर्यटक तथा विद्यार्थीहरु भीरको बाटो जोखिम मोल्दै आवतजावत गर्न बाध्य छन् । साविकको ठाउँमा क्यान्टिलिभर अथवा विस्फोट गरेर भीरमा बाटो खुलाउनुपर्ने लोक्पाका स्थानीय सेराप गुरुङको माग छ ।




