| आइतवार, मंसिर ६, २०८३

पालिकामै प्यान दर्ता सेवा सुरु हुनु स्वागतयोग्य कदम

संघियताको मूल मर्म नै नागरिकलाई घरदैलोमा सरकारी सेवा उपलब्ध गराउनु हो । नागरिकले जति सहज सेवा पाउँछन् त्यति राज्यको अनुभूति हुन्छ । सार्वजनिक सेवा लिनका लागि अनावश्यक झन्झट व्यहोर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपनि संघियताको मर्म भित्र पर्छ । सार्वजनिक सेवा सहजताका लागि स्थानीय तहबाटै स्थायी लेखा नम्वर (प्यान) दर्ता सेवा सुरु हुनु सकारात्मक छ । आरुघाट गाउँपालिकाले सुरु गरेको यो सेवा स्वागतयोग्य कदम हो ।

प्यान दर्ताका लागि यसअघि आन्तरिक राजश्व कार्यालय तथा करदाता सेवा कार्यालय धाउनुपर्ने बाध्यता थियो । ग्रामिण भेगमा रहेका नागरिकहरु सदरमुकाम धाउनुपथ्र्याे जुन झन्झटिलो र आर्थिक हिसावले पनि खर्चिलो थियो । स्थानीय तहबाटै यस्ता सेवा प्रवाह हुनुले नागरिकले भोग्दै आएका समस्याहरु न्यूनिकरण हुन्छन् भन्नेमा दुइ मत छैन । कर प्रणालीलाई थप व्यवस्थित र नागरिकमैत्री बनाउन पनि यस्ता कदमले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

प्यान दर्ता सेवाले नागरिक र व्यवसायलाई राज्यको कर प्रणालीसँग जोड्छ । करको दायरा फराकिलो बनाउने, कर छलिलाई न्यूनिकरण गर्ने, आर्थिक कारोवारलाई पारदर्शी बनाउने लगायतका कार्यमा समेत यसले सहयोग पु¥याउछ । यद्यपी सेवा सुरु गरेर मात्र हुदैन अव त्यसको प्रभावकारी कार्यान्वयन र निरन्तरता अर्थपूर्ण रहन्छ । सेवा प्रवाहमा आउन सक्ने समस्या समाधानका लागि आवश्यक तयारीमा पालिका जुट्नुपर्छ ।

अधिकार र जिम्मेवारी स्थानीय तहसम्म पुगेपनि अझैपनि केही सेवाका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता नागरिकलाई छ । यी बाध्यतालाई पनि क्रमश न्यूनिकरण गर्दै लानुपर्छ । नागरिकलाई सहज, सरल र छिटो सेवा उपलब्ध गराउनु राज्यको दायित्व हो । राज्यको सेवालाई सेवाग्राहीमैत्री बनाउँदै लानु अति आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्