| मङ्लबार, कार्तिक १७, २०८३

हिमाली भेगमा लट्टे भित्र्याउने चटारो

तराई र पहाडी भेगमा धान भित्र्याउने सिजन सुरु भएसंगै हिमाली भेगमा लट्टे भित्र्याउने उत्तरी गोरखाको हिमाली भेगमा अहिले लट्टे भित्र्याउने चटारो छ । समुद्री सतहबाट दुईहजारदेखि दुईहजार पाँचसय मिटर उचाइमा हुने लट्टे अहिले धमाधम भित्र्याउन सुरु गरिएको चुमनुब्री गाउँपालिका ६ चुम्लिङका गोपाल लामाले जानकारी दिए । यहाँ पाइने बालीहरुमध्य लट्टे सबैभन्दा लोकप्रिय रहेको उनको भनाइ छ ।

स्थानीयबासी बोलीचालीको भाषामा लट्टेलाई नाना भन्ने गर्छन् । पोसिलो र जाडोका बेला ज्यान तताउने हुँदा गाउँलेहरुले लट्टेलाई असाध्यै मन पराउने उनी बताउँछन् । यस क्षेत्रमा पाइने मकै, गहुँ, करु भन्दा लट्टे महंगो पनि र लोकप्रिय पनि रहेको स्थानीय गोपाल लामाको भनाइ छ । ‘गहुँ एक घ्वाक(तीनमाना)को डेढसय रुपैयाँमा पाइन्छ । नानालाई एकघ्वाकको दुईसय पर्छ’, लामा भन्छन्, ‘गहुँ, जौभन्दा पोसिलो र जाडोको बेला ज्यान तातो बनाउने हुनाले गाउँलहरुले नाना नै मन पराउँछन् ।’

उत्तरी गोरखाको चुम्लिङ, लोक्पा, रिब्चेत, ताजु, खारु, रेञ्जोम र बिहीमा पाइने लोकप्रिय लट्टे गाउँलेहरुले भर्खरै भित्र्याएका छन् । ‘नानालाई बैशाखतिर मकै रोप्ने सिजनमा रोप्ने हो । अनि कात्तिक लागेपछि भित्र्याउने हो’, खारुङका दिपेश लामा भन्छन्, ‘चार पटकसम्म गोडमेल गर्नुपर्ने भएकाले लट्टे खेती गर्न अल्लि झञ्झटिलो हुन्छ ।’

स्थानीयबासी जाडोका बेला लट्टेलाई भुटेर चियासंग पनि खाने गर्छन् । ‘मुख्य त ढिँडो नै खाने हो’, दिपेश भन्छन्, ‘तर भुटेर यसको फुल चियासंग पनि खान्छौँ । चम्पा बनाएर पनि खान्छौँ ।’ यसबर्ष लट्टे गतबर्षभन्दा कम उत्पादन भएको स्थानीय किसानको भनाइ छ । ‘यसलाई झारले धेरै दुख दिन्छ । त्यसैले धेरैपटक राम्रोसंग गोडमेल गर्नुपर्छ नत्र राम्रो उत्पादन हुँदैन’, उनी भन्छन्, ‘त्यही भएर होला, यो बर्ष पोहोर, परारजस्तो त्यति धेरै राम्रो भएन ।’

सरकारले पनि लट्टे, कागुनोजस्ता स्थानीय रैथाने बालीलाई प्राथमिकता दिएको छ । धेरै उत्पादन गरेर सहर पु¥याउन सके यसको बजार पनि धेरै राम्रो भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्