
सिर्दिबासकी सुत्केरी महिलाको हेलीद्वारा उद्धार
गोरखाकी एक गर्भवती महिलालाई सुत्केरी गराउने क्रममा सालनाल नझरेपछि हेलिकोप्टरबाट उद्धार गरी काठमाडौँ लगिएको छ । हिमालपारिको चुमनुब्री गाउँपालिका वडा नं ३ घट्टेखोलाकी ३९ बर्षकी सोम दिकी गुरुङलाई आइतबार दिउँसो हेलिकोप्टरबाट उद्धार गरी काठमाडौँ पठाइएको पालिकाले जनाएको छ ।
‘सिर्दिबास स्वास्थ्य चौकीमा सुत्केरी गराउने क्रममा सालनाल नझरेपछि तुरुन्तै हेलीमार्फत उद्धार गरेर काठमाडौँको थापाथली अस्पताल पठाइएको हो’, गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख प्रेमबहादुर गुरुङले भने । सुत्केरी सोम दिकीको राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ अनुसार हेलिकोप्टरबाट उद्धार गरिएको उनले जानकारी दिए ।
सो कार्यविधि अनुसार ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको सरकारले निशुल्क रुपमा हेलिकोप्टरबाट उद्धार गर्ने प्रावधान छ । ज्यान जोखिममा परेका गर्भवती तथा सत्केरी महिला भन्नाले लगातार लामो प्रश्रव बेथा लागी बच्चा जन्मन कठिनाई भएको, बच्चाको हात खुट्टा वा शरीर पहिला निस्किएर बच्चा जन्मन कठिन भएको, शिशु जन्मेको ३० मिनेटसम्म पनि सालनाल ननिस्केको तथा गर्भमा नै बच्चाको मृत्यु भएको,अवस्थाको महिला भन्ने बुझिन्छ ।
त्यस्तै गर्भ अवस्थामा गर्भवती महिलाको हात, खुट्टा र शरीर अधिक सुन्निएको, गर्भवती अवस्थामा हुने र प्रसूति पछिको अवस्थामा हुने अधिक रक्तश्राव भएमा, सुत्केरी हुने क्रममा उच्च रक्तचाप तथा एक्लम्प्सिया भएमा, पाठेघर फुटेको लक्षण देखिएमा, पाठेघर भन्दा बाहिर बच्चा बसेको शङ्का खुट्टा भएमा, बच्चा जन्मेको २४ घण्टाभित्र बच्चा अत्याधिक निसास्सिएर सास फेर्न गाह्रो भएमा र रक्तअल्पता भएको गर्भवती तथा सुत्केरी महिलालाई निशुल्क हेलिकोप्टरबाट उद्धार गर्ने प्रावधान छ ।




