| बुधबार, अशोज २७, २०८३

चुम उपत्यकाको पदयात्रामा रोक

चुमउपत्यकाको पदयात्रामा रोक लगाइएको छ । आइतवारको बाढीले क्यान्टिलिभर पुलदेखि बिभिन्न स्थानको पदमार्गमा समेत क्षति पु¥याएकाले अस्थायी रुपमा पदयात्रामा रोक लगाइएको मनास्लु संरक्षण क्षेत्र (एमक्याप) ले जनाएको छ ।

चुमनुब्री–६ लोक्पास्थित सार्दीभिरमा रहेको क्यान्टिलिभर पुल बाढीले बगाएपछि चुमउपत्यकाको पदमार्ग अवरुद्ध बनेको हो । धार्चे गाउँपालिकाको माछाखोलादेखि चुमनुब्रीको जगतसम्मको बाटोका धेरै स्थानमा पदमार्ग क्षतिग्रस्त बनेको एमक्यापका सूचना अधिकारी भुवनराज ओझाको भनाई छ ।

सामागाउँ जान चाहने पदयात्रीले भने हेलिकप्टरबाट सिधै फिलिमसम्म जान सक्ने विकल्प रहेको उनले जानकारी दिए । ओझाका अनुसार फिलिमदेखि लार्के पाससम्मको पदमार्ग खुला र सुरक्षित अवस्थामा छ । तर, माछाखोलादेखि जगतसम्म र सल्लेरी भएर जाने पदमार्ग भने क्षतिग्रस्त बनेको छ । आयोजनाले क्षतिग्रस्त पदमार्ग पुनर्निर्माण गर्न सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ ।

मनास्लु क्षेत्रको पदयात्रामा रहेका पर्यटकहरु भने सुरक्षित रहेको एमक्यापले जनाएको छ । आइतवारको बाढीका कारण मनास्लुको चुमउपत्यका पुगेका ८७ जना पर्यटकहरु समस्यामा परेका थिए । यस्तै, मनास्लु क्षेत्रको इन्ट्री पोइन्ट जगतमा अलपत्र परेका ९८ पर्यटक र ७३ जना गाइड तथा भरियाहरु पनि सुरक्षित रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्