| बुधबार, अशोज २७, २०८३

बूढीगण्डकी बाढीले अन्धकार बनायो उत्तरी गोरखाको पाँच हजार घरधुरी

बूढीगण्डकी बाढीका कारण उत्तरी गोरखाको करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन् । आइतबार चुमनुब्री गाउँपालिका–६ उङ्गिलुङ खोलातर्फबाट बूढीगण्डकीमा आएको बाढीले पालिकाको वडा नं ३ जगतस्थित सिर्दिबास उहिया लघुजलविद्युत आयोजना बगाएको थियो ।

आयोजना बगेपछि चुमनुब्री गाउँपालिका वडा नं ३ र वडा नं ६ मा विद्युत सेवा अबरुद्ध बनेको सिर्दिबास उहिया लघुजलविद्युत आयोजनाका अध्यक्ष सुजन गुरुङले बताए । गुरुङका अनुसार चुमनुब्रीको लोक्पा, दुङ्ला, न्याक, फिलिम, चिसापानी, आंगा, सस्र्युँ, नाग्चेत, घट्टेखोला, पाङसिङ, जगत, सल्लेरी, पैयुँ, भालुवन, सिर्दिबास र जगतमा विद्युत अवरुद्ध भएको हो ।

जसका कारण ९७१ घरधुरी प्रभावित बनेको उहाँले जानकारी दिनुभयो । ‘बाढीले विद्युतको १२ पोल बगायो, एउटा टावर र तारहरु पनि कता पु¥यायो, पु¥यायो । पावर हाउस चाँही सुरक्षित छ’, उहाँले भन्नुभयो, ‘आइतबार बिहान चार बजे बाढी आएदेखि यो भेगमा विजुली छैन् ।’

विद्युत नहुँदा उत्तरी गोरखाको गाउँबस्ती समस्यामा परेको चुमनुब्रीको प्रमुख प्रशासकिय अधिकृत नारायण सापकोटा बताउँनुहुन्छ । उहाँका अनुसार विद्युत र इन्टरनेट नहुँदा हाल पालिकाको प्रशासनिक काम ठप्प बनेको छ । नीजि संघसंस्थाहरु र स्थानीय नागरिकहरु पनि मर्कामा परेका उहाँको भनाई छ ।

उहाँ भन्नुहुन्छ, ‘बाढीले पुल बगायो, बाटो बगायो, विजुली पनि बगायो । अहिलेको डिजिटल युगमा विजुली नहुँदा सूचना आदनप्रदानमा समस्या भएको छ । हिजो बिहान फोनसम्पर्क गरेकै कारण सयौँ मानिसहरुको ज्यान जोगिएको हो ।’ फिलिमको केही घरहरुमा जडान गरिएका सोलारमार्फत सबैजनाले मोबाइल चार्ज गर्ने र बाहिर फोन सम्पर्क गर्ने गरेका सापकोटाले बताउनुभयो ।

हाल उत्तरी गोरखाको बाढी प्रभावित क्षेत्रमा एक गाउँबाट अर्को गाउँसम्म पुग्न सक्ने अवस्था समेत नरहेको चुमनुब्री गाउँपालिकाकी पूर्वउपाध्यक्ष कुमारी गुरुङ बताउनुहुन्छ । ‘फिलिमबाट न तल जाने ठाउँ छ, न त माथि जाने । बाढीले पुल, बाटो सबै बगायो’, उहाँले भन्नुभयो, ‘झनै विजुली पनि नहुँदा त यो ठाउँ अन्धकार बनेको छ । धन्न मानविय क्षति भने भएको छैन् ।’ उत्तरी गोरखाको अधिकांश गाउँबस्तीमा विजुली र इन्टरनेटको समस्या रहेको गुरुङको भनाई छ ।

बाढीका कारण उत्तरी गोरखाको धार्चे गाउँपालिका झनै मर्कामा परेको छ । हाल गाउँपालिकाको ७ वटै वडाका करिब चारहजार घरधुरी विद्युत विहीन बनेका पालिकाको प्रमुख प्रशासकिय अधिकृत बुद्धिराम बस्नेतले जानकारी दिनुभयो । विद्युत प्राधिकरणको आरुघाटस्थित वितरण केन्द्रमा बाढीले क्षति पु¥याएपछि धार्चे गाउँपालिका अन्धकार बनेको उहाँले बताउनुभयो । ‘बाढीले यहाँको विजुली, सञ्चार, बाटो–घाटो, पुल सबै बगायो’, उहाँले भन्नुभयो ।

जिल्लाको आरुघाट गाउँपालिकाको ५० घरधुरी पनि विद्युत विहीन बनेको त्यहाँका पालिका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार आरुघाटको वडा नं ५ शांतीबजार क्षेत्रका ५० घरधुरीमा विद्युत सेवा अवरुद्ध बनेको छ ।

प्रतिक्रिया दिनुहोस्