
बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा गम्भीर बन
प्राकृतिक विपत्तिले निम्त्याउने पीडा र क्षति केवल भौतिक संरचनाको विनाशमा सीमित हुँदैन, यसले नागरिकको जीवन, जीविकोपार्जन र भविष्यसमेत प्रभावित बनाउँछ । यसको ज्वलन्त उदाहरण हो बुढीगण्डकी नदीमा आइतवार आएको बाढी र यसले निम्त्याएको क्षति । बाढीले धेरै स्थानीयलाई घरवारविहीन बनाएको छ । पुलहरु बगाएर गाउँहरुबीचको सम्पर्क टुटाएको छ । बिशेष गरी उत्तरी गोरखाका स्थानीयको जनजीवन बाढीले निकै कष्टकर बनाएको छ ।
यतिबेला बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनालाई प्राथमिकतामा राख्नु आवश्यक छ । विपत्तिको यस घडीमा राज्यका सम्बन्धित निकाय, स्थानीय सरकार, सुरक्षा निकाय, राजनीतिक दल, सामाजिक संघसंस्था र नागरिक समाजले हातेमालो गर्दै पीडितको घाउमा मलम लगाउन ढिलाइ गर्नु हुँदैन । बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिको जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्नु र सम्भावित मानवीय क्षति न्यूनीकरण गर्नु पहिलो दायित्व हो । बाढीबाट प्रभावित तथा जोखिममा रहेका बस्तीको अवस्था तत्काल आकलन गरी आवश्यकताअनुसार उद्धार टोली परिचालन गर्नुपर्छ ।
उद्धारसँगै पीडितलाई तत्काल राहत उपलब्ध गराउनु अर्को महत्त्वपूर्ण जिम्मेवारी हो । बाढीपीडितका लागि अहिले खाद्यान्न तथा लत्ताकपडा, औषधि र अस्थायी आवासको आवश्यकता छ । राहत वितरणमा पहुँच, प्रभाव र राजनीतिक आस्थाका आधारमा विभेद हुने अवस्था आउन दिनु हुँदैन ।
बुढीगण्डकी नदी आसपासका प्रभावित बस्तीमा सडक तथा सञ्चार सम्पर्क अवरुद्ध भएको अवस्था छ भने त्यसलाई तत्काल सञ्चालनमा ल्याउन सम्बन्धित निकायले विशेष पहल गर्नुपर्छ । स्थानीय तह, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र अन्य सरोकारवाला संस्थाबीच स्पष्ट जिम्मेवारी बाँडफाँट गरी एकीकृत रूपमा काम अघि बढाउनु आवश्यक हुन्छ ।
विपत्तिको घडीमा पीडित नागरिकले सरकार र समाजबाट सहयोग, सहानुभूति र भरोसा खोजिरहेका हुन्छन् । बुढीगण्डकी बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा सम्बन्धित सबै पक्ष गम्भीर बनून् ।




