
पञ्चैबाजा वितरणको दुईतर्फी लाभ
महिला समूहले विभिन्न पर्व, मेला, उत्सव, महोत्सवमा पञ्चेबाजा बजाएर आयआर्जन गर्न थालेसंगै गोरखा नगरपालिकाले उनीहरुको होस्टेमा हैँसे गर्दै प्रोत्साहन गर्न पञ्चेबाजा सेट वितरण गरेको छ । नगरपालिकाले पाँच महिला समूहहरुलाई पञ्चेबाजा सेट वितरण गरेको हो ।
नगरपालिकाको उपप्रमुख नेतृत्व विकास कार्यक्रमअन्तरग महिला समूहहरुलाई पञ्चेबाजा सेट वितरण गरेको हो । नगरपालिकाले गोनपा–८ थाकलडाँडाको स्वर्णिम महिला समूह, गोनपा–९ को समिडाँडा महिला समूह, गोनपा–१३ को जलविरे महिला समूह, गोनपा–६ को गोरखकाली दिदीबहिनी महिला समूह र गोनपा–१ को कालिका महिला समूहलाई पञ्चेबाजा सेट वितरण गरेको छ ।
हरेक महिला समूहलाई पञ्चेबाजाअन्तरगत पर्ने एक÷एक सेट सनही, दमाहा, ट्याम्को, ढोलकी र झ्याली वितरण गरिएको हो । महिलाहरुको आयआर्जनमा सहयोग पु¥याउन, उनीहरुको क्षमता विकास गर्न र स्थानीय लोक कला तथा संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने महिला समूहलाई पञ्चेबाजा सेट उपलब्ध गराएको हो । पालिकाले गत वर्ष पनि केही महिला समूहलाई पञ्चेबाजा वितरण गरेको थियो ।
गोरखा नगरपालिकाका विभिन्न महिला समूहरु विभिन्न मेला, पर्व, उत्सव, महोत्सवमा बाजा बजाउन जाने गर्छन् । त्यहाँबाट प्राप्त आम्दानी आफ्नो समूहमा केही राखेर बाँकी आफआफू लिने गर्दछन् । यसले उनीहरुको घर, व्यवहार चलाउन पनि मद्दत पुग्छ भने अर्को लाभ कला, संस्कृति र संस्कारको जगेर्नामा पनि पुग्छ । अहिले पुरुषहरु वैदेशिक रोजगारीमा जाने गर्छन् । पञ्चै बाजा बजाउन टिमसमेत नपुग्ने अवस्था गाउँमा छ । यो अवस्थामा लोप हुदै गएको पञ्चै बाजालाई बचाउन पनि महिलाहरुको यो कदमले काम गरेको छ ।
त्यसैले नगरपालिकाको यो कार्यक्रम धेरै उपयोगी, फलदायी छ । पालिकाहरुले अरु ठाउँमा पनि यस्तै कार्यक्रम गरेर मौलिक कला, भाषा, संस्कार, संस्कृतिको संरक्षण, विकास गर्नुपर्छ ।




