| आइतवार, अशोज १७, २०८३

यसरी बन्दैछ कृष्णभीरको पहिरो छल्ने बैकल्पिक सडक

पहिरोले समस्याग्रस्त मुग्लिन–काठमाडौं सडकखण्ड अन्तरगतको कृष्णभीर छल्ने गरी बैकल्पिक सडक निर्माण कार्य अघि बढेको छ । वेनिघाटबाट फिस्लिङ जोड्ने गरी गोरखातर्फबाट नयाँ ट्रयाकसहित सडक स्तरोन्नतीको काम भइरहेको गोरखा सडक योजनाले जनाएको छ ।

कार्यालयका अनुसार फिस्लिङपारी गोरखातर्फको पल्लोटारदेखि सिउरेनटारहुँदै वेनिघाट निस्कने छोटो दुरीको सडक छ । कुल १९ किलोमिटर दुरीको उक्त सडकलाई बैकल्पिक मार्गको रुपमा स्तरोन्नती गर्न लागिएको कार्यालय प्रमुख बिनोद पुनले बताए ।

‘उक्त खण्डमा १.२ किमि नयाँ ट्रयाक खोलेर सडक स्तरोन्नती गर्ने हो,’ उनले भने, ‘दुवै योजनाको ठेक्का लागेर काम सुरु भइसकेको छ ।’ दुई वटा प्याकेजमा ठेक्का खुलाएर काम अघि बढाइएको उनले जानकारी दिए । नयाँ ट्रयाक खन्नका लागि छेवेटार कन्स्ट्रक्सन गोरखासँग सम्झौता भएको छ ।

एक महिनामा काम सम्पन्न गर्ने गरी यही असोज ५ गते सम्झौता भएको कार्यालयका इन्जिनियर आशिक रिजालले बताए । ‘डवल लेनको करिव सात मिटर चौडा सडक ट्रयाक हुन्छ,’ उनले भने, ‘उक्त कामका लागि १ करोड ७५ लाख २६ हजारमा सम्झौता भएको छ ।’

त्यस्तै करिव ६.५ किमि सडक (वेनिघाटपारी सिउरेनटारदेखि घ्याच्चोकटारहुँदै ज्यामिरेघाट फिस्लिङसम्म) स्तरोन्नतीका लागि हेटौडाको अनुज कन्स्ट्रक्सनसँग सम्झौता भएको उनले जानकारी दिए । कात्तिक ५ गतेभित्र सम्पन्न गर्ने गरी सम्झौता भएर काम अघि बढेको उनले बताए । ‘अहिलेको सडकलाई चौडा बनाएर डवल लेनमा स्तरोन्नती गर्ने हो, यसको सम्झौता रकम १ करोड ७७ लाख ८१ हजार रहेको छ,’ उनले भने ।

उक्त खण्डको बाँकी १० किमि सडक कालोपत्रेका लागि यसअघि नै ठेक्का लागिसकेको छ । प्रदेश र केन्द्र सरकारको समपुरक बजेटबाट ठेक्का लागेर काम अघि बढेको हो । तर ठेकेदारले काममा ढिलासुस्ती गरेको स्थानीयको गुनासो छ ।
पृथ्वी राजमार्गको बैकल्पिक सडकको रुपमा हेरिएको उक्त सडकखण्डमा भइरहेको कामको शुक्रवार निरिक्षण समेत भएको छ ।

गोरखा सडक योजनाको समन्वयमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द कुमार मिश्र, गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिना, सुरक्षा निकायका प्रमुख लगायतको टोलिले निरिक्षण गरेको हो । निरीक्षणको क्रममा टोलिले निर्माण कम्पनीसँग कामको प्रगतिबारे जानकारी समेत लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्