| आइतवार, अशोज १७, २०८३

गणेश हिमाल बेसक्याम्पमा होटल लज सञ्चालन

गणेश हिमाल बेसक्याम्पमा पहिलो पटक होटल, लज सेवा सञ्चालनमा आएको छ । चुमनुब्री गाउँपालिका ६ मा अवस्थित गणेश हिमाल बेसक्याम्पमा करिब २५ जना अट्ने क्षमताको होटल, जल सेवा सुरु गरिएको सञ्चालक दावा रिञ्जिन लामाले जानकारी दिए ।

चुमनुब्री ६ का दुई युवाहरुले संयुक्त रुपमा बेसक्याम्पमा होटल, लज सेवा सञ्चालन गरेका हुन् । ४२०० मिटर उचाइमा अवस्थित सो बेसक्याम्प पुग्न चुम उपत्यका पदमार्गको रेञ्जोमबाट १० घण्टा पदयात्रा गर्नुपर्दछ । ‘पहिलो दिनमा पाँच घण्टा हिँडेर गुम्बा लोङ्टाङमा बस्न पुगिन्छ । भोलिपल्ट फेरि पाँचघण्टा हिँडेपछि गणेश हिमाल बेसक्याम्प पुगिन्छ’, दावा रिञ्जिनले भने, ‘यहाँ पर्यटक आउजाउ गर्न सुरु गरेका छन् । तर उनीहरुलाई खाने, बस्ने व्यवस्थाको अभावमा दुख पाएको देखियो । त्यसैले हामीले होटल, लज सुरु गरेका हौँ ।’ यहाँ मनास्लु पदमार्ग तथा चुमभ्याली पदमार्गका होटलहरुले झैं मेनुअनुसारको खानाको व्यवस्था रहेको उनले बताए ।

बेसक्याम्पमा सार्वजनिक जग्गा मात्र भएको र पक्की संरचना बनाउन नपाउने भएकाले टेण्टमा होटल, लज चलाइएको हो ।
यहाँबाट थप दुईघण्टा हिँडेपछि खास गणेश हिमालको बेसक्याम्प पुगिन्छ । यी सबैको भ्रमण गरेपछि पर्यटकहरु एकै दिनमा चुम्लिङसम्म झर्न सक्ने दावा रिञ्जिनको भनाइ छ ।

सरकारले गणेश हिमाल आरोहण गर्न अनुमति दिएको छैन । यदि अनुमति खुल्ला गरेमा यस चुम क्षेत्रको पर्यटनको नयाँ ढोका खुल्ने दावा रिञ्जिन बताउँछन् । ‘यदि गणेश हिमाल आरोहणका लागि सरकारले अनुमति दियो भने चुम क्षेत्रको, सिंगो गाउँपालिकाको र देशको पर्यटन विकासमा परिवर्तन आउनेछ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्