
उत्तरी गोरखाबासीलाई दुखबाट मुक्त गर्न प्रयास गर
हिमाल, पहाड, तराई, दुख त कहाँ छैन र ? त्यसमा पनि नेपालजस्तो अल्पविकसित मुलुकमा सबै पक्षबाट पछाडि परेकाले दुखसास्ती अनेकन छन् । त्यसमा पनि विशेषगरी हिमाली क्षेत्र भौगोलिक जटिलताले गर्दा जनजीवन कष्टकर छ ।
हिमाली भेगमा अवस्थित उत्तरी गोरखा प्राकृतिक दृष्टिकोणले अत्यन्त सुन्दर, शान्त, विशाल छ ।
सांस्कृतिक दृष्टिकोणले अद्वितीय, धर्मका दृष्टिकोणले पनि पवित्र र महान । त्यसैले बर्सेनि दशौं हजार पर्यटक यो क्षेत्रमा भित्रिन्छन् । तर दुखका साथ भन्नुपर्छ, भौगोलिक दृष्टिकोणले जटिल अनि जोखिम । यो प्राकृतिक जोखिम टार्न मानव निर्मित पूर्वाधारले सम्भव हुने कुरै भएन ।
यो बर्षकै कुरा गरौँ, धार्चेको यो बर्खा सडक मर्मत गर्दैमा बित्यो । चुमनुब्रीमा पदमार्गको पहिरो सोहोर्दैमा हैरान । त्यसमाथि पनि दुईवटा पुल बगाएपछि स्थानीयलाई पनि अनि पर्यटकलाई पनि आवतजावतमा समस्या । कसैलाई गम्भीर स्वास्थ्य समस्या भयो वा दुर्घटना आइप¥यो भने तत्काल उपचारका लागि न गतिला स्वास्थ्य संस्था, न उपचारका लागि कुदाउन सडक सञ्जाल । पैदल हिँड्ने बाटो समेत ठाउँठाउँको पहिरोले अवरुद्ध ।
सुविधाभोगी बन्दै गएको यो समयमा हिँडडुल गर्न पनि असुविधा भएपछि उत्तरी गोरखाका नवयुवाहरु गाउँमा बस्न रुचाउँदैनन् । शिक्षा र स्वास्थ्यको अवस्था पनि चित्तबुझ्दो छैन । केही जडिबुटी संकलन र केही होटल व्यवसायबाहेक अर्थोपार्जनको बाटो पनि न्यून छ । उद्योग, कारखाना तथा व्यवसायहरु नहुँदा रोजगारीको सिर्जना पनि शून्यप्रायः नै छ ।
त्यसैले सरकारले हिमाली भेगका बारेमा विशेष सोँचका साथ योजना बनाउनु पर्दछ । भौगोलिक हिसावले जटिल रहेको यहाँको पूर्वाधारको दीगो विकासमा विशेष कार्यक्रम घोषणा गर्नुपर्दछ ।




