| बुधबार, भदौ २३, २०८३

जिल्लामा गुणस्तर तथा नापतौल कार्यालयको खाँचो

नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको कार्यालय हो, गुणस्तर तथा नापतौल कार्यालय । तर यो कार्यालय कहाँ छ, सर्वसाधारण अनभिज्ञ छन् । मानव स्वास्थ्यका लागि दैनिक उपभोग्य बस्तुको गुणस्तर तथा नापतौल दैनन्दिन चेकजाँच गर्नु जरुरी छ । तर गोरखा बजार होस् वा ग्रामीण भेगका बजारका खाद्य सामग्रीको गुणस्तर कस्तो छ भन्ने बारे न उपभोक्ता सचेत छन्, न स्थानीय प्रशासन ।

कैयौँ दैनिक उपभोग्य बस्तुहरु म्याद नाघेका छन्, कैयौँ सामग्री मिसावटयुक्त । कैयौँ दैनिक उपभोग्य सामग्री ब्राण्डबिहिन छन्, कैयौँ तुच्छ गुणस्तरका । कतिपय पसलबाट ग्राहकले अखाद्य सामग्री खानका लागि किनिरहेका छन् । कैयौँ काला बजारियाहरुले तौल घटाएर प्याकिङ गरिएका सामग्री बेचिरहेका छन् । केहीबर्षअघि ३० किलोको चामलमा दुई केजी घटाएर प्याकिङ गरी किनबेच भइरहेको भेटिएको थियो ।

कैयौँ व्यापारीले नक्कली ढकतराजु बनाएर ठगी गरिरहेका छन् । कैयौँले मूल्य बढाएर सामग्री बेचिरहेका छन् । केही दिनअघि आइसक्रिमभित्र बल्छीजस्तो धातु भेटियो । यसबारे नियमन गर्ने निकाय पहुँचमा छैन । नियमित बजार अनुगमन पनि छैन । खाना पकाउने ग्यासको सिलिण्डरबाट ग्यास झिक्ने गरेको पनि भेटियो, रिमोटद्वारा तराजुमा तौल घटाएर कुखुरा जोख्ने गरेको पनि भेटियो ।

उनीहरुले यस ग्राहक तथा उपभोक्ताहरुलाई ठगिरहेका छन् । बेलाबेला अनुगमन नहुने पनि होइन, हुन्छ, तर न परिपाटी सुधार हुन्छ, दोषीहरु सच्चिन्छन् । काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ भन्ने नेपाली उखानझै अनुगमन हुँदै गर्छ, बदमासी भइरहन्छ ।
त्यसैले मान्छेको जीवनसंग प्रत्यक्ष सम्बन्धित खाद्य सामग्रीको दिनहूँ सम्भव नभए पनि केही दिन बिराएर गुणस्तर तथा नापतौल चेकजाँच गर्नु जरुरी छ । सो कार्यालयको जिल्लामा ठूलो खाँचो छ ।

प्रतिक्रिया दिनुहोस्