| सोमवार, भदौ २१, २०८३

मनास्लु क्षेत्रको पर्यटन पूर्वाधारमा ध्यान देऊ

पर्यटन विभागले हरेक बर्ष सार्वजनिक गर्ने प्रतिवेदन हेर्दा नेपालका हिमाल आरोहणमा विशेषगरी सगरमाथा र मनास्लु हिमाल आरोहण गर्नेको संख्या ठूलो हुन्छ । वसन्त ऋतुको सिजनमा सगरमाथा आरोहीको संख्या उल्लेख्य हुन्छ भने शरद ऋतुमा मनास्लुको । गतबर्ष मनास्लु आरोहण गर्न अनुमति लिनेको संख्या ४०१ थियो । यसबर्षको शरद ऋतुमा ३४८ जनाले मनास्लु आरोहणको अनुमति लिएका छन् ।

यो संख्या अझै बढ्न सक्ने अनुमान छ । यो बर्षको शरदऋतु अर्थात असोज, कात्तिकमा मनास्लु हिमाल आरोहण गर्न विभिन्न मुलुकका २९ टोलीले अनुमति लिएका छन् । विभागबाट अहिलेसम्म कूल ३२ टोलीका तीनसय ६७ जना आरोहीले शरद ऋतुमा हिमाल चढ्न अनुमति लिएकामध्ये मनास्लुका लागि मात्र २९ टोलीका तीनसय ४८ आरोही रहेको विभागले जनाएको छ ।

यस सिजनका लागि जारी पर्वतारोहण अनुमतिबाट १५ करोड ९६ लाख २० हजार ८२८ रुपैयाँ रोयल्टी संकलन भइसकेको छ । त्यसमध्य मनास्लुका आरोहीबाट मात्र १५ करोड ८७ लाख ५६ हजार २५० रुपैयाँ राजस्व संकलन भएको छ ।
गोरखाको चुमनुब्री १, सामागाउँमा रहेको आठ हजार एक सय ६३ मिटर उचाईको मनास्लुमा केही बर्षदेखि पर्वतारोहीको आकर्षण बढ्दै गएको छ ।

यसरी हेर्दा नेपालको पर्यटन विकासमा त्यसमा पनि पर्वतारोहणका क्षेत्रमा मनास्लुको योगदान उल्लेखनीय छ । त्यसैले सरकारले पनि मनास्लु क्षेत्रको पर्यटन विकासमा विशेष चासो र विशेष कार्यक्रम बनाउनु पर्छ । अहिले मनास्लु आरोहण गर्न आरोहीहरु सिधै हेलिकोप्टरबाट सामागाउँ पुग्छन् ।

उनीहरुलाई त्यहाँको जलवायुसंग अनुकूलन हुन पनि र शारीरिक कसरतका लागि पनि पदयात्रा गरेर जाँदा उपयुक्त हुन्छ । त्यसैले उनीहरुलाई हिँडेर जाने वातावरण मिलाइयो भने त्यस क्षेत्रको पर्यटन विकासमा पनि थप टेवा पुग्ने छ । त्यस्तै पदमार्गको अवस्था कष्टकर र जोखिम पनि छ । सम्बन्धित निकायले यसको मर्मतसम्भारमा ध्यान दिनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्