| आइतवार, भदौ २०, २०८३

मनास्लु पदमार्गमा ठाँठाउँमा पहिरो

मनास्लु पर्यटन पदमार्गमा ठाउँठाउँमा पहिरो गएका कारण सडक अवरुद्ध भएको छ । साथै पहिरोले पदमार्ग पनि जोखिम भएको छ । अविरल बर्षाका कारण खानीबेशी, खोर्लावेशी, नाम्रुङफेदी लगायतका ठाउँमा सडक तथा पदमार्ग अवरुद्ध भएका हुन् ।

बेनिघाट आरुघाट लार्के सडकअन्तर्गत धार्चे गाउँपालिका ७ को खानीबेशी खण्ड अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताए । ‘यो बर्खामा पहिरो फाल्दा–फाल्दा हैरान भइयो’, उनले भने, ‘बिहान पहिरो झर्छ । दिनभरि पहिरो फाल्छौँ, फेरि राती उस्तै हुन्छ । धेरै ठाउँमा, धेरै पटक पहिरो पन्छ्याउँदा पन्छ्याउँदैमा थाकिसकियो ।’ अहिले पनि खानीवेशी र खोर्लावेशीमा सडक अवरुद्ध रहेको उनको भनाइ छ । ‘लापुवेशी र खानीवेशीमा पहिरो झरेको थियो । लापुवेशीको पन्छ्याइयो, खानीवेशीको अझै पन्छ्याउन सकेको छैन’, उनले भने, ‘माछाखोला र खोर्लावेशी बीचको खण्डमा पनि सडक अवरुद्ध नै छ ।’

दोभान र जगतको बीचमा पर्ने खालोभीर पनि निरन्तर पहिरो झरिरहने हुनाले छिनमै बन्द हुने, छिनमै खुल्ने उनले बताए ।
पहिरो र खोला, खोल्सामा आएको बाढीले मान्छे हिड्न समेत जोखिम रहेको गाउँपालिकाका अध्यक्ष गुरुङको भनाइ छ ।
त्यस्तै चुमनुब्री गाउँपालिका ४ नाम्रुङको फेदी(जंगल) मा पनि पहिरोका कारण पर्यटन आवागमनमा जोखिम बढेको छ ।

एकसाताअघि झरेको पहिरो स्थानीयले पन्छ्याउने प्रयास गरे पनि बारम्बार झरिरहने हुँदा जोखिम नै रहेको वडाअध्यक्ष पेवा ग्याल्बो लामाले जानकारी दिए । ‘आज बनायो भोलि नै जान्छ त्यसैले अहिले खच्चड व्यवसायीहरुले जसोतसो बनाउँदै गर्छ । हामीचाहिँ बर्षा अलि कम भएपछि ग्याभिन राखेर बनाउँला भनेको छु’, उनले भने ।

धमाधम पर्यटनको आवागमन सुरु भइरहँदा सडक र पदमार्ग अवरुद्ध हुँदा पर्यटकलाई समस्या भएको छ भने यस क्षेत्रका पर्यन व्यवसायीहरुलाई पनि समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस्