
रेडक्रसको ६४औँ स्थापना दिवसमा गाँखुमा रक्तदान
नेपाल रेडक्रस सोसाइटीको ६४ औँ स्थापना दिवसको अवसरमा गोरखाको सिरानचोक गाउँपालिका–६ स्थित श्री संसारी महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी गाँखु उपशाखा र श्री संसारी महेन्द्र माध्यमिक विद्यालयमा क्रियाशील जुनियर रेडक्रस सर्कल (जुरेस) को आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखाको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो ।
अस्पतालमा उपचाररत बिरामी तथा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित घाइते तथा बिरामीको उपचारमा समेत सहज रूपमा रगत उपलब्ध गराउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा शिक्षक, विद्यार्थी, समाजसेवी, बुद्धिजीवी, सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलगायत विभिन्न क्षेत्रका गरी २९ जना रक्तदाताले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रममा सहभागी रक्तदातालाई प्रोत्साहनस्वरूप असल छिमेकी नेपाल संस्थाले फलफूल सहयोग गरेको थियो ।
कार्यक्रमले आपत्कालीन अवस्थामा आवश्यक पर्ने रगतको आपूर्ति सहज बनाउन सहयोग पुग्नुका साथै रक्तदानप्रति समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकको भनाइ छ ।




