
त्रिशुलीको वारिपारि नै राजमार्ग बनाऊ
अहिले मुलुक ठूलो विपदमा गुज्रिरहेको छ । गत भदौ १० गते रसुवा र नुवाकोटका त्रिशुली किनारका बस्ती बाढीले पुरिएर हजारौंको मृत्यू भएको छ । तीमध्य केहीको शव फेला परे पनि धेरै अझै फेला पर्न बाँकी नै छ । त्यस्तै हजारौँ घर, भवन तथा अन्य संरचना पुरिए, बगेर नष्ट भएका छन् । हजारौंका संख्यामा मोटरहरु, मोटरेबल पुल, सडक, हाइड्रोपावर आयोजना, उर्वर खेत पनि बगेका पुरिएका छन् ।
अर्कातिर धादिङस्थित पृथ्वीराजमार्ग ठाउँ ठाउँ पहिरिएर क्षतिग्रस्त भएको छ । जसका कारण अहिले राजमार्गमा गाडी चल्न सकेका छैनन् । राजधानीको लाइफलाइन मानिएको राजमार्ग बन्द हुँदा खाद्यान्न, खाना पकाउने ग्यास तथा अत्यावश्यकीय सामान ढुवानी हुन सकेका छैनन् । त्यस्तै ठूलो परिमाणको राहत पु¥याउनु पर्ने रसुवा र नुवाकोटमा त्यस्ता सामग्री पु¥याउन कठिनाइ भएको छ । यसले जटिल मानवीय संकट निम्त्याउन सक्ने आशंका छ ।
यो बेला गोरखाले पृथ्वीराजमार्गको अल्पकालीन वैकल्पिक बाटो दिन सक्नुपर्छ । गोरखातर्फ सडक नभएको होइन, छ, तर साँगुरा, कच्ची मात्र । अब छिटोभन्दा छिटो ती सडकलाई मर्मतसम्भार गरी गोरखातर्फबाट गाडी गुड्ने वातावरण बनाउनु पर्छ ।
एक हिउँदले जाडो जाँदैन भनेझै विपद् यो मात्रै होइन । यो मात्र अन्तिम घटना होइन, यस्ता घटना अझै कति झेल्नुपर्ने छ ।
यो घटनाको सिकाइले अबका दिनमा त्रिशुली वारि र पारि दुवैतिरबाट राजमार्ग बनाउनु वुद्धिमानी हुन्छ ।
चाहे मुग्लिन नारायणगढ होस् वा मुग्लिन नौविसे होस्, दुईतर्फी सडक बनाउन सकियो भने एउटा बन्द भयो भने अर्को सहज रुपमा चल्न सक्छ । अर्थात दुवै सडक सुचारु हुँदा गाडी जाम हुने समस्या हल हुन्छ । राजधानी प्रवेश गर्ने राजमार्ग भएकाले यसो गर्नु जरुरी पनि छ ।




