
सिण्डिकेट लाद्नेमाथि के कारबाही भयो ?
आफ्नो यातायात प्रालि दर्ता गर्न मरिहत्ते गर्ने, कुटाइ, पिटाइ खाएर पनि दर्ता गरिछाड्ने अनि आफ्नो दर्ता भएपछि अर्को नयाँ कम्पनी आउन नदिने गोरखाको यातायात क्षेत्रको प्रवृत्ति हो ।
गोरखा दरौदी जन्मन नदिन पृथ्वीले लादेको सिण्डिकेट, गोरखा यातायात दर्ता भइसकेपछि उसले पृथ्वी यातायातलाई साँधेको प्रतिशोध, पृथ्वीका गाडीलाई ग्रामीण सडकमा चल्न नदिँदाको दादागिरी । फेरि आरुघाट यातायातलाई नजन्मँदै गर्भमै तुहाउन गरिएका हर्कत, अनि गोरखा मनकामना यातायात जन्मने क्रममा भएको सकस, भिमसेन यातायात गर्भमै तुहिँदाको कहानी सबै गोरखा बजारबासीलाई जगजाहेर छ ।
अहिले त्यही दोहोरिएको छ, गोरखकाली यातायात प्रालि जन्मने क्रममा पनि । आफू जन्मेपछि आफूलाई जन्मन नदिन पुरानाले गरेको हर्कतलाई सहजै स्वीकार गरी फेरि आफूले नयाँलाई त्यस्तै दुख दिने कस्तो संस्कृति छ यातायात क्षेत्रमा ?
गोरखा दरौंदी यातायात, पृथ्वीराजमार्ग यातायात र गोरखा मनकामना यातायातको साँठगाँठबाट गोरखा मनकामना यातायात सेवा कम्पनी प्रालिका व्यवसायी र मजदुर मिलेर आइतबार दिनदहाडै प्रस्तावित गोरखकाली यातायात सेवा प्रालिका अध्यक्ष ताराबहादुर बानियाँ(जीवन)माथि निर्घात कुटपिट गरे । बजारभित्रै मुख्य सडक चोकै लछारपछार पारे ।
पीडित व्यक्ति कारबाहीको माग गर्दै प्रहरी र प्रशासनमा धाएको धायै छ । संविधान, ऐन, नियमावली, कानूनमा व्यवस्था भएबमोजिम व्यवसाय गर्न खोज्दा पनि थुनछेक भएको भन्दै अदालत पनि धाएको दायै छ । बलियाले सिण्डिकेट लादेको लाद्यै छन् । तर पनि पीडितले न्याय नपाएको उल्टै दिनहाडै बजारभित्रै आक्रमणको सिकार बन्नु परेको छ ।
कानूनी राज्यमा यस्तो कानून मिचेर गरिएको हर्कत विरुद्ध प्रशासन कार्यालयले के कारबाही गर्छ वा के कारबाही ग¥यो ? सर्वसाधारण जान्न उत्सुक छन् ।




