| बुधबार, भदौ ९, २०८३

प्रसंसाको पात्र बनाउने सहिदलखनको कार्य

गोरखाका पालिकाहरुमध्य सहिदलखन गाउँपालिकाको कार्यसम्पादन ‘विशेष’ नै छ । सदरमुकासंग जोडिएको यो पालिकाको सेवाप्रति पालिकाबासी प्रफुल्ल छन्, अन्य पालिकाबासीहरु पनि सहिदलखनको सेवाप्रति आकर्षित छन् ।

सो पालिकाले पछिल्ला दिनमा आर्थिक अवस्था कमजोर भएका, असहाय तथा विविध कारणले पढाइ छोड्न बाध्य बालबालिकालाई संरक्षण दिई शिक्षा दिने कदम कार्य शुभारम्भ गरेको छ । कोही पनि, कुनै पनि कारण विद्यालय शिक्षाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले सो पालिकाले आवाससहित शिक्षा दिने प्रवन्ध मिलाएको छ । आफ्नो पालिका भित्रका विपन्न बालबालिकालाई लक्षित गरेर पालिकाले वडा नं ६ घैरुङ बाँसकोटस्थित हिमालय माविमा आवासहित पढ्न पाउने व्यवस्था गरेको हो ।

पालिकाभित्रका अनाथ, असहाय र आर्थिक रुपमा विपन्न बालबालिकाहरुलाई सुरक्षित आवाससहित गुणस्तरीय शिक्षा दिने महान र पवित्र उद्देश्य पालिकाको छ । हाल गाउँपालिकाको हिमालय माविस्थित छात्रावासमा १३ जना बालबालिकाहरु आश्रित छन् । उनीहरुको कक्षा १० सम्मको शिक्षा र पालन पोषण सबैको जिम्मेवारी गाउँपालिकाले बेहोर्ने छ ।

पालिकाभित्रका विपन्न बालबालिकाहरुका लागि आइतबारबाट सुरक्षित आवासीय शिक्षा संचालनमा ल्याएको छ । विपन्न बालबालिकाका लक्षित आवासीय शिक्षा कार्यक्रममा लागि पालिकाले आर्थिक वर्ष २०८२/०८३ मा रु. १० लाख बिनियोजन गरेको थियो । सोही रकमले हिमालय माविको रित्तो भवनमा छात्र र छात्राहरुका लागि छात्रावास, शौचालय र मेसको व्यवस्थापन गरेको थियो ।

अहिले गाउँपालिकाले २० जना बालबालिका क्षमताको छात्राबास संचालनमा ल्याएको छ । त्यसलाई आवश्यकता अनुसार बढाउँदै लैजाने पालिकाको योजना छ । पारिवारिक अवस्थाका कारण अध्ययन गर्न नसकेका र संरक्षकको आवश्यकता भएका बालबालिकाहरुलाई पालिकाले आवेदन माग गरी छनोट गरेको थियो ।

सहिदलखन गाउँपालिकाले सीमान्तकृत चेपाङ र बराम समुदायका बालबालिकाहरुको लागि सिंजाली माविमा छुट्टै आवासीय सुविधासहित पठनपाठन गर्ने तयारी गरेको छ । विद्यालयको भवन निर्माण कार्य सम्पन्न भए लगत्तै आगामि शैक्षिकसत्रबाट उक्त सेवा संचालन गर्ने गाउँपालिकाको योजना छ । यस्ता कार्यले पालिकालाई प्रशंसाको पात्र बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्